राजनीति
काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी हेरफेर गरेको स्रोतको दावी छ । मध्य कमान्ड इन्चार्ज सुदर्शन गिरफ्तार भैसकेपछी उनले सम्हालिरहेको उक्त जिम्मेवारीमा नेकपाका स्थायी समिती सदस्य तथा प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दिएको भन्ने स्रोतले बताएको छ । यधपी नेकपाले आधाकारिक रुपमा घोषणा या पुष्टि गरिसकेको छैन ।
पार्टीलाई सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि पनि आफ्नो फिल्ड नछोडेर खटिदै गर्दा नेकपाका स्थायी समिती सदस्य तथा मध्यकामाण्ड इन्चार्ज हेमन्त प्रकाश वली सुदर्शन पक्राउ परेका थिए । वली पक्राउ परेपछि रिक्त रहेको जिम्मेवारीमा प्रकाण्डलाई जिम्मेवारी दिएको कुरा एक स्रोतले बताएको छ । यस बारे बुझ्दा आफुलाइ थाह नभएको नेकपाका एक नेताले बताएकाछन ।
विप्लवको बिज्ञप्ती, मुक्ति ल्याउने र देशलाइ बचाउने आन्दोलनमा बढाएर जाने घोषणा
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले सम्पूर्ण जनसमुदाअलाइ धन्यवाद दिएकाछन । भर्खरै एक बिज्ञप्ती जारी गरी आफ्नो पार्टीले आव्हान गरेको बन्दलाइ सफल बनाउन सहयोग गर्ने सबैमा अभार व्यक्त गरेकाछन ।
विप्लव नेतृत्वको नेकपाका समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पोलिटब्यूरो सदस्य जिवन्त, केन्द्रीय सदस्यहरु वसन्त , बन्धु, लगायत ३०० भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार गरी झुट्टा मुद्दा लगाएर हिरासतमा राखेको प्रती नेकपा आक्रोशित बनेको छ ।
विप्लवले यो सरकार र वर्तमान सत्ताले नेपाली जनता र देशको रक्षा गर्न नसक्ने भएकाले आफ्नो पार्टीले अघि बढाएको सङ्घर्षमा लाग्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्“ देशको अवस्था दिनानुदिन बिग्रिदै गएको छ । यो सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएर गएको छ । त्यसैले देश र जनता असाध्यै जोखिममा पर्दै गएका छन् । जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन एकपटक फेरि नयाँ सङ्घर्षमा एक भएर लाग्न जरुरी भैसकेको छ । त्यसैले हाम्रो पार्टी जो निरन्तर आन्दोलनको नेतृत्व गर्दै आइरहेकोले उक्त आन्दोलनमा देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतान्त्रवादी लाग्न विशेष आग्रह गरिन्छ
।”

हिजो मात्र नेकपा मुख्यालयले एक अपिल प्रकाशित गरी बन्दको कारण खुलाउदै सहयोगको अपिल गरेको थियो ।
प्रकाशीत अपिल यस्तो थियो
उक्त पार्टीले देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूलाई बन्द सफल पार्न सहयोग गर्न अपिल गरेको छ । नेकपाको केन्द्रीय कार्यालयद्वारा प्रकाशित अपिलमा भनिएको छ, ‘केपी सरकारको अति अत्याचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई यही वैशाख ५ गते नेपाल बन्द गरेका छौँ । उक्त दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गरौँ । अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरौँ ।’
अपिलमा अगाडि भनिएको छ, ‘अधकचल्टो क्रान्तिले केही व्यक्ति र नेताहरूलाई सत्ताभोगी लुटेरा वर्गमा पतन गरिदिन्छ । जनयुद्धलाई हामी यसबाट बचाउन चाहन्थ्यौँ । अपसोच ! प्रचण्डहरूको गद्दारीले गर्दा मुठीभर माओवादीहरू (धेरै त त्यहाँ पनि उत्पीडित नै छन्) लाई दलाल पुँजीपति (अर्बपति, करोडपति) वर्गमा पतन गरायो । उनीहरूलाई उदाहरण बनाएर सारा क्रान्ति नै असम्भव भन्दै जनताको मुक्तिमार्गलाई बन्द गरिदिने षड्यन्त्र चलिरहेको छ । यसबाट सबै सचेत बनौँ । पुँजीवाद—दलाल पुँजीवाद रहेसम्म न जनता मुक्त हुनेछन्, न त सुखी र समृद्ध नै हुनेछन् । यी सबै कुरा दलाल वर्गका थैली भर्ने फट्याइँ मात्र हुन् । यस्ता नयाँ जोगीहरूको उचालाइमा लागेर सेना–प्रहरीहरूका जवान र अफिसरहरू पनि धेरै चकचक नगरौँ । तसर्थ आउनुहोस् जनसमुदाय मुक्ति, अधिकार र स्वाधीनताका लागि सारा एक हौँ र केपी वली सरकारको फासिवादी दमनको प्रतिरोध गरौँ ।’
अपिलमा सरकारको शैलीलाइ उनकै भाषामा उदाङ्ग बनाइदिएकाछन । त्यहाँ भनिएको छ, ‘केपी वली सरकार आएपछि कति जनघाती–राष्ट्रघाती अपराध र काण्डहरू भए । खै सुन तस्करहरूको हिसाब, खै ठूलो जहाज काण्डको ६ अर्ब रुपैयाँ, खै चिनी काण्डका अपराधीहरू, खै एनसेलकाण्ड रच्ने कमिसनखोरहरू, खै बूढीगण्डकीका कमिसनखोरहरू, खै निर्मलाका बलात्कारी र हत्याराहरू, खै अरुण तीन र माथिल्लो कर्णाली बेचेर खानेहरू ? खै प्रहरी–प्रशासनलाई घूसखोरी, चाकरी–चाप्लुसीमा फसाएर इमानदारलाई कारबाही र ठगलाई पुरस्कृत गर्ने फटाहाहरू ? भाषणमा त केपी वलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेको होइन ?! आज के हुँदैछ जनसमुदाय ? केपी बस्ने बालुवाटारसमेत बेचेर खाने, आफ्नो नाममा बनाउने विष्णु पौडेलहरूलाई के भयो ? तारागाउँको सयौँ रोपनी जमिन लिलाम गरेर खानेहरूलाई के भयो ? भ्रष्टाचारको छानबिन गर्ने भन्ने अख्तियारका भ्रष्टाचारीहरूलाई के भयो ? के यो केपीको पाखण्डी, निकृष्ट र अधमपन होइन ? यो त ‘मुखमा रामराम, बगलीमा छुरा’ भनेको भएन ? म भ्रष्टाचरमा डुब्छु र अरूलाई पनि भ्रष्टाचारमै बगाउँछु भनेको भएन ?! यी अपराधी त उल्टो हामीलाई गोली हान्ने आदेश दिँदै पो हिँडेका छन् त ! अनि यस्ता अपराधीहरूलाई कारबाही हुनुपर्छ र यो सत्ताको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भन्दा हामीमाथि प्रतिबन्ध लगाउनुपर्छ ? जनताले नै भन्नुस्, प्रतिबन्ध हामीलाई कि देश डुबाउने, जनता कङ्गाल बनाउने, जनतामाथि दमन गर्ने र राजनीतिक अधिकार नै खोस्ने भ्रष्ट, तस्कर, कमिसनखोर, दलाल केपी सरकारमाथि लगाउने ?’