राजनीति
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालबीच एकीकरणको तयारी थालिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले आइतबार एक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चासँग पार्टी एकीकरणबारे छलफल अघि बढाइएको बताएका हुन् ।
असोज २२ देखि २६ गतेसम्म भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैद्यले आफूहरु निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवादविरुद्ध लडेका प्रगतिशील शक्तिलाई सघाउने बताएका हुन ।
मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सघाउने वैद्यले बताए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थीबीचको एकता बताउँदै वैद्यले नेकपा र राष्ट्रिय जनमोर्चाबीचको एकताबारे छलफल अघि बढिरहेको जानकारी दिए । ‘उनी (राजमो) र हामीबीच धेरै कुरा मिल्दैनन् । तापनि सच्चा कम्युनिष्टबीच एकीकरण गरौ भन्ने हाम्रो मत हो’, वैद्यले भने, ‘पार्टी एकता प्रयासका लागि वार्ता जारी रहेको छ ।’
पोखरामा भएको सम्मेलनले पार्टीको विधान परिमार्जन गरी महासचिव पद्धति अपनाएको छ । सम्मेलनले ९५ सदस्यीय केन्द्रीय कमिटी पनि गठन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।