राजनीति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लामो समयसम्म एकीकरण प्रक्रियामा अल्झिएको जिल्ला कमिटी एकता टुंग्याउने अन्तिम तयारी बालुवाटारमा भइरहेको छ ।
स्रोतका अनुसार पार्टीका महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल एकता प्रक्रियालाई अन्तिम रूप दिन खटिएका छन् ।राष्ट्रिय सभागृहमा आइतवार आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७०औं स्थापना दिवस स्थापना र सम्मान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा अन्तिम सहमतिका लागि दुईजना नेता खटाइएको पुष्टि गरेका छन् । एकता प्रक्रियामा असन्तुष्ट रहेको माधव नेपाल समूहले केही साता पहिला छुट्टै सूची तयार गरेको थियो । प्रदेश कमिटी पनि मापदण्ड विपरीत बनेको भन्दै नेपाल समूहले जिल्ला कमिटीमा आफूलाई कुनै भागबण्डा नछुट्याएको भन्दै समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएको थियो ।
अध्यक्षद्वयले पार्टीको एकता प्रक्रियामा सहभागी गराउने कुनै संकेत नदेखाएपछि नेता नेपाल ‘विद्रोह’ गर्ने मनस्थितिमा पुगेको स्रोत बताउँछ । तर अन्तिम समयमा पार्टी महासचिव पौडेलसँगै नेता नेपाललाई राखेर जिल्ला कमिटीको नेतृत्व टुंग्याउने विषयमा सहमति खोज्न अध्यक्षद्वय प्रचण्ड र केपी ओली तयार भएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्पूर्ण एकता प्रक्रिया टुङ्गो लगाउन नेताहरु आज विहानैदेखि छलफलमा जुटेका छन् ।नेपाल कम्युनिष्ट पार्टी दिवस स्थापना दिवसको उपलक्ष्यमा वैशाख ९ गते पार्टीको तल्लो तहसम्मको एकता घोषणा गर्ने लक्ष्य सहित छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलको बीचमा छलफल थियो ।
स्थानीय तह, जिल्ला, प्रदेश र जनवर्गीय संगठनहरुको एकताको बारेमा छलफल भएको बुझिएको छ । साँझ पुनः बैठक बसेर टुगों लगाउने बताइएको छ ।आज साँझ पाँच वजे दुईजना अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डा’ बीच छलफल भएपछि छ वजे सचिवालयको बैठकले एकताका बाँकी काम टुगों लगाउने पार्टीको तयारी रहेको छ ।