logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेकपाका दुई केन्द्रिय सदस्य असल र आदर्श विरुद्ध यस्तो लाग्यो मुद्दा


  • राजनीति
  • सोमबार, बैशाख ९ २०७६

दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २  केन्द्रिय सद्स्य सहित तीन नेताविरुद्ध प्रहरीले संगठित अपराध मुद्दा दर्ता गरेको छ।

दाङ जिल्ला अदालतमा नेकपाको केन्द्रीय सुरक्षा तथा मध्यपश्चिम कमाण्डका सैन्य विभाग प्रमुख चन्द्रबहादुर खड्का ‘असल’, जनअदालत विभाग प्रमुख चूडामणि वली ‘आदर्श’ र रोल्पाका जनसत्ता प्रमुख लालबहादुर वली ‘विश्व’ विरुद्ध दाङ जिल्ला प्रहरी कार्यालयले संगठित अपराध मुद्दा दर्ता गराइ पाँच दिनको म्याद थप गरेको हो। ।

सैन्य विभाग प्रमुख असल र जन अदालत विभाग प्रमुख आदर्श नेकपाका केन्द्रीय सदस्य हुन् भने रोल्पा जनसत्ता प्रमुख विश्व रोल्पा जिल्ला कमिटी सदस्य हुन्।

यही वैशाख ६ गते अपराह्न ४ बजे बा। १८ च ३१४२ नम्बरको स्कार्पियो गाडीमा दाङबाट सल्यानतर्फ जाँदै गरेका बेला दाङकै तुलसीपुर महानगरपालिका वडा नम्बर ३, राम्रीबाट उनीहरूलाई पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ५० अनुसार राज्यविरुद्ध कसुर र संगठित अपराध ऐन २०७० बमोजिम आइतबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

विप्लवको बिज्ञप्ती, बाध्य पारे परिणाम भयानक हुने चेतावनी

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीकामहासचिव विप्लवले सरकारले आफ्नो पार्टी र जनवर्गीय संगठनमाथि लगाएको प्रतिबन्ध नहटाउने र नेता, कार्यकर्ताको गिरफ्तारी नरोक्ने हो भने सरकारको कार्वाही विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

यही बैशाख ७ गते बेलुका एक प्रेस वक्तव्यमा भनिएको छ, “सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ । यसै सिलसिला फासिवादी सरकारले बैशाख ६ गतेका दिन केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई पुनः गिरफ्तार गरेको छ ।

सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं । यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं । हामी अहिले पनि भन्दैछौं, हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुनेछ ।

स्मरण रहोस् केपी सरकारले गत फागुन २८ गतेदेखि विप्लव नेतृत्वको नेकपाको गतविधिमाथि प्रतिबन्ध लगाएको छ । त्यसपछि ठूलो संख्यामा नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । यसरी गिरफ्तार हुनेमा स्थायी समिति सदस्य सुदर्शन, पोलिट ब्युरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्यहरु बसन्त श्रेष्ठ, चुडामणि ओली, चन्द्रबहादुर खड्का, बन्धु चन्द रहेका छन् । त्यसैगरी सयौंको संख्यामा ब्युरो सदस्य, जिल्ला सदस्यहरु गिरफ्तार भएका छन् । सरकारले घोषणा गरेको प्रतिबन्धको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा व्यापक विरोध भैराखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार