राजनीति
बुटवल–रुद्रप्रसाद घिमिरेमाथि प्रहरीले सार्वजनिक मुद्दा लगाएको छ । बुटवलमा शनिबार जितगढी विजय उत्सव मनाउन आएका प्रधानमन्त्री ओलीले भाषण गर्दै गर्दा कालो झण्डा देखाएका थिए ।
घिमिरेले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा देखाएपछि अलमलमा परेको प्रहरीलाई प्रधानमन्त्री ओलीले कालोझण्डा देखाइरहेका छन्, के हेरिरहनु भएको छ ? भन्ने प्रश्न गरेपछि नियन्त्रणमा लिएको थियो ।
तत्कालै प्रधानमन्त्रीले ‘बिचरा कसैले पठाएर आएका होलान् छाडिदिनुस्’ भनेका थिए । प्रहरीको ‘माथिको आदेश’ आएपछि फौजदारी संहिताअन्तरगत सार्वजनिक मुद्दा चलाइएको हो ।अर्घाखाँची छत्रदेव गाउँपालिकामा घर भएका घिमिरे केही वर्षदेखि बुटवल–११ मजुवामा बस्दै आएका छन् ।
३० वर्षीय घिमिरे गत प्रतिनिधि सभाको निर्वाचनमा नेकपा महासचिव विष्णु पौडेलले जितेको क्षेत्र रुपन्देही २ बाट स्वतन्त्र उम्मेदवार थिए । कांग्रेस पृष्ठभूमिका उनी विगतमा तत्कालीन माओवादीको अखिल क्रान्तिकारीमा आवद्ध थिए ।