logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विद्यार्थीको चाप बढेपछि सामुदायिक विद्यालयमा भर्ना रोकियो


  • रासस
  • सोमबार, बैशाख ९ २०७६

मुग्लिन (चितवन) – ‘विद्यार्थीको संख्या बढाउँछौं अंग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौं भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशंका व्यक्त गरियो, अहिले भर्ना नै रोक्नुपरेको छ ।’ यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका३ स्थित् राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको ।

शैक्षिक सत्र २०७६ बाट नर्सरी, केजी र कक्षा १ मा विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १ मा पहिलो वर्ष २०/२० जनाको भर्ना लिने उद्देश्य लिएकामा समय अगावै कोटा पुगेपछि सूचना जारी गरेरै भर्ना रोकिएको शिक्षक गुरुङले बताए ।

अन्य बालबालिकाहरुलाई त यस विद्यालयमा वञ्चित गरियो नी भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो अन्य बालबालिकालाई बञ्चित गर्ने उद्देश्य होइन, पहिलो वर्ष विद्यालयको भौतिक संरचना र जनशक्तिले धान्न सक्ने मात्र भर्ना गरेका हौं, विद्यार्थीको संख्या थुर्पानुभन्दा पनि गुणात्मक शिक्षामा ध्यान दिनुपपर्छ ।’ विद्यालयको थप भौतिक पूर्वाधार निर्माणपछि आगामी वर्षबाट यस विद्यालयमा अध्ययन गर्न चाहने सबै बालबालिकाको भर्ना लिने उनले बताए ।

उनका अनुसार नर्सरी केजी र कक्षा १ मा सबै बालबालिकालाई भर्ना लिँदा प्रत्येक कक्षामा ३० भन्दा धेरै बालबालिका हुन्छन् । उक्त संख्या विद्यालयको भौतिक र जनशक्तिले धान्न सक्दैन । कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा अन्य कक्षामा भने भर्ना रोकिएको छैन । गतवर्ष १०३ जना बालबालिका भर्ना भएका थिए । यस वर्ष १४० जना पुर्‍याउने लक्ष्य लिएको छ । निजी विद्यालयले चर्को शुल्क लिएर दिने शिक्षाभन्दा कमी नहुने विद्यालय व्यवस्थापन समिति र शिक्षकले अभिभावकसँग प्रतिबद्धता गरेको छ ।

प्रधानाध्यापक गुरुङका अनुसार निजी विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तक नै प्रयोग गरिनेछ भने सवारी भाडा बाहेक विद्यार्थीले अन्य शुल्क तिर्नुपर्ने छैन । विद्यालयले व्यवस्थापन गर्ने सवारी भाडा दर पनि अभिभावकले नै निर्धारण गर्ने गुरुङले जानकारी दिए । यसैबीच वि.सं. २०६६ देखि नै अंग्रेजी माध्यममा पठनपाठन भइरहेको वडा नं ५ मा रहेको त्रिवेणी बराह माध्यमिक विद्यालयमा यसवर्ष पनि विद्यार्थीको भर्ना संख्या बढेको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि निजी विद्यालयबाट समेत विद्यार्थी उक्त विद्यालयमा भर्ना हुन आएको प्रधानाध्यापक युवराज लामाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार