राजनीति
पोखरा- नेपाली सन्चारमाध्यमको हेडलाइनमा अभिनेत्री रेखा थापा र तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै नाचेको खबर कुनै समय निकै प्राथमिकताका साथ छापिएको थियो । त्यति बेला माओवादी पार्टीमा रेखा थापा प्रवेश गरेकी थिइन् ।
तर, रेखाले माओवादीमा धेरै समय दिइनन् । उनले फेरि सदस्यता लिइन् राष्ट्रिय प्रजातन्त्र पार्टीको । त्यसयता माओवादी र नेपाल कम्युनिस्ट पार्टी तथा यी पार्टीका नेताहरुमाथि कडा अभिव्यक्ति दिन थालेकी छिन्, रेखा थापाले । त्यो पनि सामाजिक सन्जालबाट ।
त्यहीमध्ये एउटा हो, रेखाले केही समयअघि मात्र गरेको ट्विट । अनलाइन सन्चारमाध्यम सेतोपाटीमा आएको एउटा समाचारको स्क्रिन सट लिएर रेखा थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एउटा प्रश्न गरेकी छिन् ।
यो समाचार प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहमाथि राखेको एउटा अभिव्यक्तिको समाचार हो । प्रचण्डले बम पड्काएर परिवर्तन हुन्छ भन्ने धारणा राख्नु विप्लवको गल्ती भएको बताएको समाचारमा रेखाले प्रश्न गरेकी हुन्– आफूले चाहिँ परेवा उडाएको हो र ?
पछिल्लो समय रेखा थापाले विप्लव समूहलाई समर्थन गरिरहेको हल्ला पनि चल्न थालेको छ । तर, उनी स्वयंले भने यसबारे केही बताएकी छैनन् ।
रेखाले आफ्नो ट्विटरमा प्रचण्डमाथि प्रश्न राखेपछि अधिकांश कमेन्टहरु चाहिँ उनी र प्रचण्ड केही समयअघि नाचेको सन्दर्भका आएका छन् ।
