logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

८ वर्षदेखि अलपत्र निर्माण कार्य बेंसीशहर-दोर्दी जोड्ने मोटरेबल पुल


  • रासस
  • बिहिबार, बैशाख १२ २०७६

लमजुङ- दुई वर्षमा निर्माण भइसक्नुपर्ने गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित बेंसीशहर नगरपालिका–११ चिती र दोर्दी गाउँपालिका–४ नौथर जोड्ने दोर्दीखोला निर्माणाधीन मोटरेबल पुल आठ वर्षसम्म पनि निर्माण कार्य पूरा हुन सकेको छैन ।

मोटरेबल पुलको निर्माण कार्य कछुवाको गतिमा अघि बढ्ने र रोकिने गर्नाले अझै निमार्ण कार्यले तीव्रता पाउन सकेको छैन । यसबाट दोर्दी गाउँपालिकाका दजनौँ गाउँका स्थानीयले समस्या झेल्न बाध्य हुँदै आएका छन् ।

कछुवा गतिमा निर्माण भए पनि दुई महीनाबाट काम ठप्प भएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०६८ चैतमा शिलान्यास गरेर काम शुरु भएको थियो ।

पटक पटक म्याद थप गरी हालसम्म पुलका लागि चार वटा पिलर, पुलको ढलानलगायतको काम गरी हालसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको डिभिजन सडक कार्यालय दमौलीका इञ्जिनीयर ठाकुर भण्डारीले बताए । अझै तीन मिटर लम्बाई र चौडाइको केही मिटर पुलको ढलान गर्न बाँकी रहेको उनको भनाइ छ ।

पुलको एप्रोज रोड र बायाँतर्फको पर्खालको काम गरी १५ प्रतिशत निर्माण कार्य बाँकी रहेको डिभिजन सडक कार्यालय दमौलीले जनाएको छ । सो पुलको निर्माण कार्य अझै कहिलेबाट शुरु भई कहिले सकिन्छ भनेर स्थानीयले निकै चासो व्यक्त गर्दै आएका छन् । सपना निर्माण सेवा कम्पनी र जय बाबा कम्पनीलाई पुलको जिम्मा दिएर झण्डै रु तीन करोडको लगानीमा निर्माण गर्न लागिएको ६० मिटर लम्बाई, सात दशमलव २० सेन्टिमिटर चौडाइको सो पुल २०७० असार मसान्तभित्रै निर्माणकार्य सम्पन्न गर्ने गरी विसं २०६८ मा सम्झौता भएको थियो ।

हिउँदको समयमा खोलामा ह्युमपाइप राखेर सवारी साधान नौथर, श्रीमञ्ज्याङ हुँदै ढोडेनीको छोटेखोलासम्म सवारी साधन सञ्चालन हुँदै आएको छ ।

दोर्दीखोलामा मोटरेबल पुल नहुँदा नौथर, श्रीमञ्ज्याङ, पाचोक, ढोडेनी, फलेनी, गौँडा लगायतका दजनौँ गाउँमा सामान ढुवानी र आवतजावतमा निकै समस्या हुने गरेको नौथर सेराका स्थानीय लक्ष्मण गुरुङले बताए । पुलको निर्माण अलपत्र हुँदा स्थानीयलाई मात्रै नभई दोर्दी करिडोरमा करौडौँको लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनालाई समेत निकै समस्या पर्दै आएको छ ।

निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी–ख, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी–ए र दुई मेगावाटको छ्याङदी जलविद्युत् आयोजनालाई निर्माण सामग्री ढुवानी, मजदुर तथा प्राविधिक जनशक्तिलाई आवतजावतमा समस्या परेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार