राजनीति
जनकपुरधाम- नेकपा प्रदेश नम्बर दुई अन्तर्गत चार जिल्लाका सचिवले पद लिन अस्वीकार गरेका छन् । पर्साको सचिव विजय प्रसाद महतो, रौतहटको सचिव युवराज भट्टराई, सर्लाहीको सचिव डाचाराज वाग्ले र धनुषाको सचिव श्रवण यादवले सचिव पद लिनबाट अस्वीकार गरेका हुन् ।
पर्सा, रौतहट र सर्लाहीका सचिवहरुले लिखित रूपमै पदको जिम्मेवारी बहन गर्न नसकिने भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित रूपमा अस्वीकृति पत्र बुझाएका छन् ।
सर्लाही र रौतहटका सचिव त काठमाडौं नै पुगेर उक्त लिखित अस्वीकृति पत्र पार्टी अध्यक्ष प्रचण्डको हातमा बुझाएर आएका छन् भने पर्साका सचिवले लिखित पत्र पठाउनुका साथै सामाजिक सञ्जालमा पत्र सार्वजनिक गरेको लोकान्तरलाई जानकारी दिएका छन् । त्यसै गरी धनुषाका सचिव श्रवण यादवले प्रदेश नम्बर दुईको प्रदेश कमिटीका अध्यक्ष प्रभु साहलाई फोन मार्फत सचिव पद अस्वीकार रहेकाले राजीनामा दिएको बताएका छन् ।