logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

खुल्ला मंच बिक्रीमा नक्कली कागज, यि हुन हस्ताक्षरकर्ता कर्मचारी


  • राजनीति
  • शनिबार, बैशाख १४ २०७६

काठमाडौं – राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ । महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख छ ।

ठेकेदारलाई ‘नक्साविपरीतका संरचना निर्माण गर्न पाइनेछ’ भन्ने प्रति दिइसकेपछि महानगरपालिकाको प्रतिमा डटपेनले केरमेट गरी ‘छ’ लाई ‘छैन’ भनेर बेहोरा फेरिएको पाइएको हो । काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिबीच २०७४ वैशाख ८ गते सम्झौता भएको थियो ।

महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘काठमाडौं महानगरपालिकाले मिति २०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइनेछैन साथै द्वितीय पक्षलाई मर्का पर्नेगरी संशोधन गरिनेछैन । दुवै पक्षको सहमतिमा आकारप्रकारमा थपघट गर्न सकिनेछ’ भन्ने उल्लेख छ ।

प्रालिसँग भएको सम्झौतापत्रमा भने ‘काठमाडौं महानगरपालिकाले मिति २०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइनेछ र साथै द्वितीय पक्षलाई मर्का पर्नेगरी संशोधन गरिने छैन । दुवै पक्षको सहमतिमा आकारप्रकारमा थपघट गर्न सकिनेछ’ भन्ने उल्लेख गरिएको छ ।

कसको छ हस्ताक्षर ?

कीर्ते सम्झौतापत्रका हस्ताक्षरकर्ता ज्ञानेन्द्र कार्की

सहमतिपत्र हेर्दा यो कीर्ते जनप्रतिनिधि आउनुभन्दा पहिला नै कर्मचारीहरूले गरेको देखिन्छ । महानगरपालिकाको तर्फबाट कीर्ते कागजपत्रमा प्रशासन विभागका विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेका छन् । ठेकेदारको तर्फबाट बिल्डर्सका कार्यकारी अध्यक्ष मनोज भेटवालको हस्ताक्षर छ ।

राजस्व महाशाखा प्रमुख महेश काफ्ले र निजी साझेदारी इकाइ प्रमुख सुमन अधिकारी साक्षी बसेका छन् । बिल्डर्सकी लेखा प्रमुख गीता भट्ट पनि साक्षी बसेकी छन् ।

यसैलाई आधार बनाएर भेटवालले खुलामञ्चमा सटर निर्माण गरेर वार्षिक एक करोड ८२ लाख ५० हजार भाडा उठाउँदै आएका छन् ।

उनले सार्वजनिक स्थानमा बनाएको प्रतिसटर ११ लाख सलामी लिएर बिक्री गरेको त्यहाँका व्यापारीहरूले जानकारी दिएका छन् । सटर बनाउनुअघि नै भेटवालले पाँच करोड अगि्रम भुक्तानी लिएका थिए ।

नक्कली कागजको सृङ्गखला

काठमाडौं महानगरपालिकाले कीर्ते गरेको यो नै पहिलोपटक भने होइन । विश्व सम्पदा सूचीमा रहेको बसन्तपुर दरबार क्षेत्रमा पनि ठीक यसै गरी कीर्ते कागज बनाएर साढे चार तले संरचना बनाउन अनुमति दिएको थियो ।

बसन्तपुर क्षेत्रको महर्जन बिजनेश एसोसिएट प्रालिलाई महानगरले यसैगरी साढे ४ तले भवनको अनुमति दिएको थियो । महानगरपालिकामा भएको कागजमा भने चारतले भवनको मात्रै स्वीकृत दिइएको उल्लेख थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार