राजनीति
मौसमविद्ले भारतमा विकसित शक्तिशाली ‘फानी’ आँधीको प्रभाव नेपालमा सुरु भइसकेको बताएका छन्। बंगालको खाँडीमा बनेको चक्रवात फानीको प्रभावले अहिले नेपालको पूर्वी क्षेत्रको मौसम पूरै बदली भएको मौसमविद्ले बताएका छन्। त्यहाँ हुरीबताससहित पानी पर्न थालेको छ।
उक्त आँधीको असर विशेषगरी पूर्वी र मध्य क्षेत्रमा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। ‘फानी नै नेपाल आउने होइन, यो कहिल्यै नेपाल आउँदैन,उनले भनिन्, ‘यसको प्रभाव मात्र पर्ने हो।’
मौसमविद् पोखरेलका अनुसार फानी भारतको उडिसा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले नेपालका पूर्वी र मध्य क्षेत्रमा असर पर्ने भएको हो।फानीको प्रभावले पूर्व र मध्य क्षेत्रका हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन्।
उता पश्चिमी क्षेत्रमा पश्चिमी वायु सक्रिय भएका कारण त्यस क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद् पोखरेलले जानकारी दिइन्।
‘अहिले पोखरादेखि पूर्व रूपन्देही, कपिलवस्तु लगायतका क्षेत्रमा हावाहुरी, चट्याङसहित पानी परिरहेको खबर आएको छ,’ उनले भनिन्, ‘अब केही समयपछि काठमाडौंमा पनि बदली हुने देखिएको छ।’
आज (शुक्रबार) देशभरको मौसम बदली हुने देखिएको सचेत रहन उनको सुझाव छ। ‘फानी तथा पश्चिमी वायु दुवैको असर देखिएकाले आज देशैभरजसो भारी वर्षा, चट्याङ, हुरीबतासको सम्भावना देखिएको छ, त्यसकारण सचेत भएको राम्रो।’
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको सूचनाः
अपडेट : चक्रवात “फानी”
२० गते शुक्रबार वैशाख २०७६, ०८:३० बजे
चक्रवात “फानी” हाल बंगालको खाडीमा ओडिसाको तटीय क्षेत्रनजिकै अवस्थित छ| आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओडिसाको तटीय क्षेत्रमा मध्याह्नतिर भित्रिने (Landfall) सम्भावना देखिन्छ| Landfall पश्चात् यो प्रणाली फेरि उत्तर-पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जानेछ|
उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए तापनि यसको प्रभावबाट नेपालका पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार ) मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा एकदुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ भने हिमाली भूभागमा पनि मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिन्छ।
साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपातको सम्भावना छ। आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ।