राजनीति
पोखरा- गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न रोक लगाएेको छ।
भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो।
भारतमा बिहानैदेखि चक्रवातको प्रभाव सुरु भइसकेको छ। प्रतिघण्टा गति १ सय ७५ किमिमा फानी चक्रवात चलिरहेको छ भने आज अपराह्न ३ बजेदेखि उक्त चक्रवातले नेपालका पूर्वी जिल्लाहरुमा पनि प्रभाव पार्नेछ।
यसको प्रभाव आइतबारसम्म रहने मौसम पूर्वानुमान विभागले जानकारी गराएपछि शनिबार दिनभरसम्मका लागि हेलिकप्टर नउडाउन भनिएको हेलिकप्टर सोसाइटीका महासचिव योगराज कँडेलले जानकारी दिए। फानी चक्रवात क्याटागोरी ३ वा ४ को आँधी हो। जसले लाखौँ मानिसको ज्यान जोखिममा पार्ने सम्भावना हुनसक्छ। यसको हावाको गति प्रतिघण्टा २ सयदेखि ३ सय किमिसम्म हुन्छ।
भारतको उडिसामा आइरहेको फानी चक्रवात बंगालको खाडीमा ओडिसा राज्यको तटीय क्षेत्रनजिक रहे पनि नेपालको काठमाडौंसम्मको मौसममा यसको असर सुरु भइसकेको छ। यसको गम्भीर असर नेपालमा नपर्ने भए पनि बाक्लो वर्षात् हुनसक्ने बताइएको छ। त्यस्तै हिमाली भेकका जिल्लामा हिमपात हुनसक्ने मौसम विभागले जनाएको छ।
आइतबारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ।
यसैबीच, पर्यटन विभागले पनि पर्यटक र पर्यटकीय व्यवस्थापन गर्ने एजेन्सीहरुलाई स्थानीय मौसमको ख्याल गरी सोही अनुरुपको व्यवस्था मिलाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।