logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रिय सभाका अध्यक्षले ४ पदमा आफ्नै नाम राखेर मासिक ६९ हजार झ्वाम


  • पत्रपत्रिका
  • आइतबार, बैशाख २२ २०७६

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।

‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ ।’

नयाँ पत्रिकालाई प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ ।

संसद् सचिवालयले गत पुसदेखि सांसद तथा पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धितकै खातामा जम्मा गर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार संघीय संसद्का सभामुख र अध्यक्षको स्वकीय सचिवालयमा सात कर्मचारीको सुविधा हुन्छ । अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, स्वकीय सचिवद्वय मनबहादुर क्षेत्री र कृष्णमणि बराल तथा कम्प्युटर अधिकृत उदय तिमिल्सिनाको व्यक्तिगत बैंक खाता नम्बर सचिवालयलाई प्राप्त छ । तर, दुई हलुका सवारीचालक र दुई कार्यालय सहयोगीको नाममा भने ‘गणेशप्रसाद तिमिल्सिना’ नै उल्लेख छ ।

सवारीसाधन व्यवस्थापन शाखा प्रमुखको झुट चालकले खोलिदिए

संसद् सचिवालयस्थित सवारीसाधन व्यवस्थापन शाखा प्रमुख कान्छा दुलाल भने अध्यक्षले सचिवालयको चालक प्रयोग नगरेको बताउँछन् । अध्यक्षको निजी चालक लापसाङ तामाङ भएको उनको दाबी छ । ‘अध्यक्षको गाडी चलाउन सचिवालयको चालक छुट्याएको छैन,’ दुलालले भने । तर, बुधबार उनले दाबी गर्दै गर्दा शाखामा आइपुगेका सचिवालयका चालक सलामसिंह लामाले दुलालको दाबीलाई झुट पुष्टि गरिदिए । दुलालले कहाँ गएर आउनुभयो भनेर सोधेको प्रश्नमा सलामसिंहले जवाफ फर्काए, ‘राष्ट्रपतिको विदेश सवारी थियो, अध्यक्षज्यूलाई एयरपोर्ट पुर्‍याएर आएँ ।’ नियमअनुसार सचिवालयकै सवारी प्रयोग गरे निजी सवारीचालक शीर्षकमा रकम बुझ्नै मिल्दैन ।

 

ऐनमा यस्तो व्यवस्था

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार स्वकीय सचिवालयका कर्मचारीकै नामको बैंक खातामा पारिश्रमिक जम्मा गरिदिनुपर्छ । ‘स्वकीय सचिवालयका कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ,’ ऐनमा भनिएको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसद तथा पदाधिकारीको पिएले आफ्नै बैंक खातामा पारिश्रमिक पाउनुपर्ने व्यवस्था भए पनि संघीय संसद् प्रारम्भ भएको १० महिनासम्म पनि सांसदका पिएको तलब सांसदहरूकै खातामा जाने गरेको थियो । यसबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भइसकेपछि संसद् सचिवालयले ऐनको व्यवस्था गत पुसदेखि कार्यान्वयन गरेको हो । हालसम्म सबै सांसदहरूले आफ्नो पिएको खाता नम्बर बुझाइसकेको संघीय संसद् सचिवालयले जनाएको छ । तर, अध्यक्ष तिमिल्सिनाको स्वकीय सचिवालयका चारजना कर्मचारीको तलब भने अध्यक्षकै खातामा गइरहेको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालय भन्छ– घरमा खाना पकाउन बस्नेको नागरिकता नै छैन, चालक परिवर्तन भइरहन्छन्, त्यसैले खाता खोलिएन
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले भने घरमा खाना पकाउन तथा अन्य सहयोग गर्न राखिएका कार्यालय सहयोगीको नागरिकता नभएकाले खाता खोल्न नसकिएको जनाएको छ । सवारीचालकसमेत परिवर्तन भइरहने भएकाले बैंक खाता नखोलिएको सचिवालयको दाबी छ । ‘कार्यालय सहयोगी दीनदुःखीलाई राख्नुभएको छ । उहाँहरूको नागरिकता नभएको समस्याले उहाँहरूको खाता खोल्न सकिएन । सवारीचालक पनि परिवर्तन भइरहने भएकाले उहाँहरूको पनि खाता बुझाउन नसकिएको हो,’ अध्यक्षका निजी सचिव उद्वीर नेपालीले भने ।

कृष्ण कट्टेल ले नयाँ पत्रीकामा लेखेकाछ्न

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार