logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

तनहुँ आँबुखैरेनी गाउँपालिकास्थित ६ वटा विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा


  • रासस
  • आइतबार, बैशाख २२ २०७६

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ६ वटा सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेका छन् ।

आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले ती विद्यालयमा शिक्षक अभाव भएकाले पठनपाठनमा समस्या हुन पुगेको जानकारी दिए ।

शिक्षक सेवा आयोगबाट शिक्षकको नतिजा प्रकाशन भएसँगै ती विद्यालयमा शिक्षक अभाव भएको उनले बताए ।

उनले भने, “ती विद्यालयमा पढाइरहेका शिक्षकमध्ये कतिपयले नाम निकाल्न सक्नुभएन र केहीले अवकाश रोज्नुभयो । जसका कारण विद्यालयमा शिक्षक अभाव हुन पुग्यो ।”

उनका अनुसार शिक्षक कम भएका ती विद्यालयमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उनका अनुसार ती विद्यालयमध्ये केही विद्यालय मर्ज गर्नुपर्ने अवस्थासमेत रहेको छ ।

उनले भने, “केही विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून छ, त्यस्ता विद्यालय मर्जको प्रक्रिया बढाइएको छ, कम विद्यार्थी भएको विद्यालयमा सहजकर्ताले पढाइरहनुभएको छ ।”

वडा नं ३ स्थित परोपकार प्राथमिक विद्यालयमा समेत वैशाख २६ गतेबाट शिक्षक अभाव हुने उनले बताए ।

उनका अनुसार उक्त विद्यालयमा कार्यरत दुई शिक्षकमध्ये एक अस्थायी शिक्षक परीक्षामा फेल भएको र अर्को एक आगामी वैशाख २६ गतेबाट निवृत्त हुँदैछन् ।

आँबुखैरेनी गाउँपालिकाभित्रका ३८ विद्यालयमा १७८ शिक्षक कार्यरत थिए ।

३० अस्थायी शिक्षकमध्ये केहीले अवकाश रोजे भने केहीले परीक्षामा सहभागी भएर नाम निकाल्न सकेनन् ।

गाउँपालिकाभित्रका एक शिक्षकको सरुवा भइसकेको छ भने एक सेवा निवृत्त हुने तयारीमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार