राजनीति
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा सत्तारुढ नेकपाले आज साढे तीन बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आकस्मिक कार्यक्रमको आयोजना गरेको छ।
नेकपाले आकस्मिक रुपमा कार्यक्रम आयोजना गरेपछि ‘समाजवादी पार्टी, नेपाल’ को पूर्व घटक नयाँशक्तिका केन्द्रीय कार्यकारी समिति सदस्य देवेन्द्र पराजुली, पार्टी नेतृ कल्पना धमला (पराजुली पत्नी) लगायतका नेताहरु नेकपा प्रवेश गर्न लागेको चर्चा व्याप्त छ।
तर, आफूहरु नेकपा प्रवेशको कुनै तयारी नरहेको नेता पराजुली बताउँछन्। ‘एमाले–माओवादी केन्द्र एकता भन्दा पहिल्यै हामीले पार्टी नयाँशक्तिमा लागेका हौँ’ पराजुलीले नेपालखबरसँग भने, ‘नेकपा प्रवेश गर्ने कुनै तयारी छैन।’
यद्यपी, पूर्व नयाँशक्ति नेपालका पराजुली, धमला, सचिवालय सदस्य एवं पूर्व संविधान सभा सदस्य भक्तबहादुर शाह (जाजरकोट), पूर्व संविधान सभा सदस्य एवं गोरखा अध्यक्ष ज्ञानेन्द्र कुमाल, कर्णाली संयोजक एवं पूर्व संविधान सभा सदस्य रामबहादुर बोहोरा (डोल्पा), सचिवालय सदस्य मदन राई, प्रदेश–३ संयोजक सोनामसिँह स्याङ्तान लगायत चाहिँ एकताप्रति असन्तुष्ट छन्।
‘के गर्ने भन्ने सम्बन्धमा हामी छलफलमै छौँ’ पराजुलीले भने, ‘हामीले कुनै निर्णय चाहिँ गरिसकेका छैनौँ।’
पराजुलीका भनाईमा, फोरमसँगको एकताअघि र एकताको क्रममा पनि आन्तरिक लोकतन्त्रको कुनै अभ्यास नयाँशक्तिभित्र थिएन। ‘फोरमसँग एकता गर्ने निर्णयक्रममा हामीलाई तीन घण्टा कुराइयो र एकता गर्ने निर्णय सुनाएर एकताको पक्षमा हात उठाउन लगाइयो’ उनले भने, ‘आन्तरिक लोकतन्त्र होइन, हात उठाउने लोकतन्त्रको अभ्यासमार्फत् पार्टी एकताको निर्णय भयो।’
एकताको निर्णय लगत्तै पराजुलीले पार्टीले एकता सम्बन्धी निर्णय अलोकतान्त्रिक तवरले गरेको टिप्पणी पनि गरेका थिए। ‘महाधिवेशन आयोजक समितिको बैठक बोलाउने, सबैलाई कुराउने, अनि दुई चार जना मात्रै बसेर निर्णय लिने’ उनले आफ्नो फेसबुकमा लेखेका थिए, ‘यो अलोकतान्त्रिक सोच र शैली बदल।’
‘बैकल्पिक राजनीतिको कुरा गरेर हामी तत्कालिन एमाओवादीबाट अलग भयौँ’ उनले भने, ‘तर, अहिले यस्तो भयो। त्यसैले कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल जारी नै छ।’
जनयुद्धकालमा तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्ष रहेका पराजुली माओवादी शान्तिपूर्ण प्रक्रियामा आएपछि डा भट्टराई निकट रहँदै आएका थिए। जनयुद्धकालमा वर्तमान गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा पार्टीका लडाकूबाटै गिरफ्तार भई यातना भोगेका डा भट्टराई एमाओवादीबाट अलग भएलगत्तै पार्टी परित्याग गरेका थिए।