राजनीति
गत बैशाख १३ गते प्रहरी द्धारा गिरफ्तार गरिएका कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीका यादव चन्द रिहा भएका छन् । उनलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दी प्रत्यक्षीकरण रीट जारी गरेको छ । रीट जारी भएसंगै चन्द रिहा भएका हुन् । यादव विद्रोही नेकपाका महासचिव विप्लवको भतिजा हुन् ।
चन्दकी श्रीमती सरस्वती चन्दले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश कुमार पोखरेल र वामदेव ज्ञवालीको इजलासले रिहा गर्न आदेश दिएको हो ।
विप्लव नेकपालाई सहयोग गरेको आरोपमा यादवलाई प्रहरीले गत बैशाख १३ गते रुपन्देहीको मणिग्रामस्थित यातायात कार्यालयमा आएको बेला पक्राउ गरेको थियो ।
गत बैशाख २३ गते पक्राउ गरेका यादवलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रहरीले वैशाख १९ गते थुनुवा पुर्जी दिएका थिए । यादव भगवानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक समेत हुन् ।
उनलाइ प्रशासन कार्यालयले प्रहरीको काममा यादवले अवरोध पुर्याएको अभियोग लगाए पनि कसुर र पक्राउ गर्न पर्नुको स्पष्ट कारण नखुलेको देखिएपछि अदालतले बन्दी प्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएको हो ।
बैशाख २५ गते बुधबार भएको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, लिलाधर मरासिनी, लक्ष्मण निरौला, नगेन्द्रप्रसाद बस्याल, ओमप्रसाद पंगेनी र ज्ञानु केसी. तथा विपक्षी सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता आनन्द शर्माले बहस गरेका थिए ।