पोखरा- मन्त्रिपरिषदले वैशाख १९ गते नेपाल प्रहरीमा रिक्त रहेको डीआइजी पदमा एसएसपी विश्वराज पोखरेललाई बढुवाको निर्णय गरेपछि वरिष्ठ प्रहरी अधिकृतहरुमा असन्तुष्टि देखापरेको छ ।
नेपाल प्रहरीमा आधा दर्जन एसएसपीहरु रहँदाल्रहँदै राजनीतिक आधारमा कनिष्टलाई डीआइजी बनाइएको गुनासो असन्तुष्ट एसएसपीहरुको छ ।एउटा टोलीले आफ्नो वरीयताबमोजिमको पदोन्नति नपाउँदै तल्लो टोलीबाट एकैचोटि विश्वराज पोखरेललाई बढुवा गरिँदा फौजी संगठनको चेन अफ कमाण्ड बिथोलिएको भन्दै अधिकांश प्रहरी अधिकृतहरु निराश भएका हुन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोलीले नेपाल प्रहरीमा ०४६ माघ २९ गते इन्स्पेक्टर पदबाट भर्ना भएर सेवा प्रारम्भ गरेको थियो ।
खनालभन्दा पछि ०४९ बैशाख १९ गते भर्ना भएका केही अधिकृतहरु डीआईजी पदमा कार्यरत छन् भने केहीचाहिँ अझैसम्म एसएसपी नै छन् । तर, ती सिनियर एसएसपीहरुभन्दा ११ महिनापछि भर्ना भएका पोखरेललाई डीआईजी बनाइएको असन्तुष्टहरुको तर्क छ ।
२०४९ वैशाख १९ मा भर्ना भएको टोलीबाट अहिले शैलेस थापा क्षेत्री, निरजबहादुर शाही, हरिबहादुर पाल र प्रद्युम्नकुमार कार्कीसहितका अधिकृतहरु डीआईजी पदमा कार्यरत छन् ।
तर, ०४९ मै भर्ना भएको यही टोलीका गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, रामकृपाल साह, प्रकाश अधिकारी, शेखर कोइराला, वीरेन्द्रकुमार बस्यालसहित झण्डै एक दर्जन अधिकृतहरु अहिले पनि एसएसपी पदमै कार्यरत छन् ।
डीआईजी सिफारिस भएका पोखरेल ०४९ चैत ११ मा इन्स्पेक्टर पदमा नियुक्त भएका हुन् । उनीसँगै उत्तमराज सुवेदी, अरुणकुमार बीसी, धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, दिवेश लोहनीलगायतका प्रहरी अधिकारीहरु पोखरेल भर्ना भएकै मितिमा इन्स्पेक्टर पदमा भर्ना भएका हुन् ।
तर, ११ महिनाअघि भर्ना भएकाहरुलाई एसएसपीमै खुम्च्याएर कनिष्ट मध्येबाट पोखरेललाई डीआइजीमा बढुवा गरिएको गुनासो एसएसपीहरु माझ चल्न थालेको छ ।
समकालीनमा पनि असन्तुष्टि
एउटै ब्याचका इन्स्पेक्टरहरुलाई डीएसपीमा र डीएसपीबाट एसपीमा बढुवा गर्दा विश्वराज पहिलो नम्बर वरीयतामा थिएनन् । तर, एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा पाँचौं वरीयताका पोखरेललाई एक नम्बरमा पारिएको थियो ।
यसअघि काठमाडौं प्रहरी परिसरमा रहेका बेला दिल्लीस्थित नेपाली दूताबासमा सुरुवा हुँदा पोखरेलले जान नमानेर कमाण्डको अनुशासन उल्लंघन गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
तर, अहिले उनै एसएसपी पोखरेललाई एक्लै बढुवा गरेर भावी आइजीपीका लागि बाटो खोल्ने काम गरिएको गुनासो संगठनभित्र चुलिएको छ ।
राजनीतिक नेतृत्वले आफ्नो स्वार्थमा सुरक्षा निकायको वरीयता बिगार्ने क्रमलाई संगठन प्रमुखका हैसियतले आईजीपीले रोक्नुपर्नेमा उनले त्यसो नगरेको भन्दै संगठनभित्र आईजीपी सर्वेन्द्र खनालसमेत आलोचित बनेका छन् ।
डीआईजीमा बढुवा भएका पोखरेल रक्षामन्त्री ईश्वर पोखरेलका नातेदार हुन् ।
अनलाइन खबरबाट साभार
रक्षा मन्त्री इश्वर पोखरेलकै दबावमा जुनिएर विश्वराज पोखरेल रातारात डिआइजीमा बढुवा !
एसएसपी विश्वराज पोखरेललाई डीआईजीमा बढुवाकाे लागि सिफारिस गरिएकाे छ। लागु औषध नियन्त्रण ब्युराे काेटेश्वरमा कार्यरत पाेखरेललाई बढुवा समितीले बिहीबार बढुवाका लागि सिफारिस गरेकाे हाे।
डिआईजी शुसिल भण्डारीकाे दुर्घटनामा मृत्यु भएपछि डिआईजीकाे एउटा सिट खाली थियाे। प्रहरी एसएसपी विश्वराज पोखरेल राजनीतिक शक्तिकै दबाव र आडमा प्रहरी नायब महानिरिक्षक डिआइजीमा बढुवा भएको व्याचीहरुले बताएका छन।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलकै दबावमा उनी डिआइजी बन्न सफल भएका हुन् नाम नखुलाउने सर्तमा एक प्रहरीले भने ।
गृह मन्त्रालय स्रोतका अनुसार जुनियर एसएसपी विश्वराज पोखरेललाई डिआईजी बनाउनका लागि मन्त्री पोखरेलले तारन्तार दबाब दिन थालेपछि गृह सचिव प्रेमकुमार राई आजित बनेका थिए । आज बसेको गृहमन्त्रालयको बढुवा सम्बन्धि निर्णयले खाली रहेको डिआइजी पदमा पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।दुर्घटनापछि खाली भएको पदमा एकल बढुवा हुन पोखरेल लामो समयदेखि नेताको दैलो चहार्दै आएका थिए ।
एसएसपी पोखरेल भन्दा आधा दर्जन बढी सिनियर एसएसपीहरु बढुवा हुन नपाएर बसेका छन् । पोखरेल भन्दा सिनियर एसएसपीहरुमा विरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, बसन्त पन्त, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, गणेश ऐरलगायत छन् । उनीहरु २०४७ असार २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरु डिआईजीद्धय हरी पाल र शैलेश थापाका व्याजी हुन् ।
तर, पोखरेल भने २०४९ चैत ११ मा सेवा प्रवेश गरेका हुन् । पोखरेलका व्याजमा उनी भन्दा क्षमतावान एसएसपीहरु पनि छन् । एसएसपी धिरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्र धानुक, बसन्त लामाहरु पनि डिआईजीका आकांक्षी थिए। तर, उनीहरुले कुनै राजनीतिक दलका नेताको दैलोमा पुग्ने काम गरेको सुनिएको छैन ।
एक त जुनियर त्यसमाथि पनि कमाण्ड क्षमतामा कमजोर मानिएका पोखरेलले एकाएक शक्तिकेन्द्र मार्फत बढुवामा चलखेल गरेका कारण गृह मन्त्रालयमा दबाव बढेको थियो ।
काभ्रेमा कार्तिक १० गते भएको जिप दुर्घटनामा नेपाल प्रहरीका डिआईजी सुशील भण्डारीको मृत्यु भएको थियो । दुर्घटनामा घाइते डिआईजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
डिआइजी भण्डारी प्रहरी प्रधान कार्यालयको अन्वेषण शाखामा कार्यरत थिए। उनी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याचमेट हुन्।काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, गैह्रीबिसौना, भागेटारमा बा३च २८७ नंम्बरको टोयटा जिप शनिबार दिउँसो सडकबाट पाँच सय मिटर तल खसेको थियो ।दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।