राजनीति
लेखक खगेन्द्र संग्रौला र समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई बिच ट्वीटरमा वाक युद्ध चलेको छ । प्रसंग थियो बाबुराम नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकताको झलकको ।
एकताको दिन जब बाबुराम र उपेन्द्र कानेखुसी गरिरहेको बेलामा उनिहरुका पछाडी खिचिएको फोटोमा सुरक्षा गार्ड देखिएका कारण दुवै बिच वाक युद्ध चलेको हो ।
संग्रौलाले सार्वजनिक मच्चमा धरी राजसी गाथको रक्षार्थ बडो दम्भी मुद्रामा पछाडि पिस्तोलधारी सिपाहीलाई खडा गराउने मान्यवर क्रान्तिकारीले लोकलाई दिने लोकतन्त्र र समाजवादको अनुहार कस्तो होला ? भनेर ट्वीटरमा प्रश्न गरेका थिए ।उनै संग्रौलाको ट्वीटलाई रि ट्वीट गर्दे भट्टराईले जवाफ दिएका छन् ।
भट्टराईले भनेका छन्,धन्यवाद, वरिष्ठ व्रो ! फोटोमा देखिएको हाम्रो यो कानेखुसी यही सुरक्षाकर्मीलाई हटाउने विषयमा थियो ! मैले त हटिसकेहोलान् भन्ने ठानेको थिएँ, पछि फर्केर पुन: चेक गर्न विर्सिएछ! भूलचुक माफ होस्! हाम्रो समाजवाद अर्को नक्कली जिनिस हैन साँच्चिकै उन्नत संघीय समाजवाद हुनेछ !


नासा भन्छ- नेपालमा एकै दिन दुई हजारभन्दा बढी स्थानमा डढेलो हेर्नुस तस्विरमा

काठमाडौं नेपालको इतिहासमा एकै दिन सबैभन्दा धेरै दुई हजार चार स्थानमा वन डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस स्याटलाइटको तस्बीरअनुसार पछिल्लो २४ घण्टामा नेपालका ४३ जिल्लामा दुई हजार चार स्थानमा वन डढेलो लागेको देखिएको हो ।
नेपालमा यसअघि एकै दिनमा सबैभन्दा बढी डढेलो लागेको तथ्याङ्क यही वैशाख १६ गते रेकर्ड गरिएको वन तथा भू–संरक्ष विभागका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माले जानकारी दिए । त्यस दिन एक हजार ८७१ स्थानमा वन डढेलो लागेको थियो ।
नासाको उक्त तस्बीर हेर्दा कैलालीका ३९७, दाङका २८७, सुर्खेतका २२०, डडेल्धुराका १५९, बर्दियाका १५८, सल्यानका १३९, कञ्चनपुरका १३७, डोटीका ११२, अर्घाखाँचीका ७६, प्यूठानका ६९, अछामका ६६, बाँकेका ५४, गुल्मीका २१, धादिङका १७, कपिलवस्तुका १६, दैलेखका नौ, रुपन्देही र सिन्धुपाल्चोकका सात÷सात, बैतडी र नुवाकोटका छ÷छ, स्थानमा तथा बझाङ, मकवानपुर, पाल्पा र सिन्धुलीका चार÷चार स्थानमा वन डढेलो लागेको देखिएको छ ।
सोबाहेक अन्य १९ जिल्लामा दुईतीन स्थानमा डढेलो लागेको देखिएको छ । सामान्यता नेपालमा वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो लाग्ने समय हो र ८० प्रतिशतभन्दा बढी आगलागी मध्य फागुनदेखि मध्य वैशाखसम्म लाग्ने गरेको छ । तर, यस वर्ष वन डढेलोको क्रम फरक देखिएको उनले बताए ।
डढेलो विज्ञ शर्माले भने, “यतिखेर वन डढेलोको क्रम घट्नुपर्ने हो तर त्यस्तो देखिएन, हालसम्मको वन डढेलोको प्रक्षेपण हेर्दा पछाडि धकेलिएको देखिन्छ, आशा गराँै यो नै ‘पिक फायर’ होस् ।” तुलनात्मक रुपमा डढेलोका घटना बढिरहेको देखिए पनि यस वर्ष हालसम्म कुनै ठूलो जनधनको क्षति भएको खबर प्राप्त नभएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
सरकारले वन डढेलोलाई अन्य विपद्जस्तो प्राथमिकतामा नराखेको सरोकारवालाको भनाइ छ । वन डढेलो नियन्त्रणको प्रतिकार्यका लागि तीनै तहका सरकारसँग पर्याप्त उपकरण र जनशक्ति नभएको मन्त्रालयको स्वीकारोक्ति छ । जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुँदा डढेलोका घटना बढेका हुन सक्ने बताइन्छ ।
मन्त्रालयले डढेलोबाट हुने क्षति रोक्न पहिलो पटक यस वर्ष सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना गरे पनि त्यो अझै पूर्ण सञ्चालनमा आइसकेको छैन । यद्यपि सो कक्षबाट सम्बन्धित सबै जिल्ला डिभिजन कार्यालयलाई सतर्कता अपनाउन निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले बताए ।
नेपालमा ६४ प्रतिशत वन डढेलो व्यक्तिले जानीजानी लगाउने, ३२ प्रतिशत लापरवाही तथा दुर्घटनाबाट हुने र चार प्रतिशत अन्य स्रोतबाट आगलागी हुने गरेको विभागको तथ्याङ्क छ । वन डढेलोबाट जनधनको क्षतिका साथै वस्तुभाउ र जङ्गली जनावर नष्ट हुने, जैविक विविधताको विनाश, मानिसको स्वास्थ्य र वातावरणमा ठूलो असर पर्ने गरेको छ । डढेलोले सबै वन क्षेत्र विनाश नहुने भए पनि साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावरको बढी क्षति हुने गरेको छ ।