logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मिडिया विधेयक विरुद्ध पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन (तालिकासहित)


  • राजनीति
  • आइतबार, जेष्ठ ५ २०७६

नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको बैठकले पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भए पनि विधेयक सच्याउन सरकार सकारात्मक नभएको भन्दै दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो।

दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू यस प्रकार छन् –

जेठ ६ र ७ गते – महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श ।
जेठ ८ गते – संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने ।
जेठ ९ देखि १२ गतेसम्म – सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने ।
जेठ १३ र १४ गते – सांसदहरुसँग भेट गरी छलफल गर्ने ।
जेठ १६ र १७ गते – प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता ।
जेठ १८ देखि २० गतेसम्म – महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने ।
जेठ २१ र २२ गते – महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २३ र २४ गते – केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २५ गते – अपरान्ह ३ः०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने ।

मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने निर्णय पनि महासंघले गरेको छ।

मिडिया काउन्सिल विधेयकले आलोचनात्मक पत्रकारितामा अंकुश लगाउने र स्तुति पत्रकारिता प्रवद्र्धन गर्ने ठहर महासंघको छ। यो विधेयक पारित भए प्रेस काउन्सिल खारेज हुन्छ र त्यसको सट्टा बन्ने मिडिया काउन्सिलका अध्यक्ष एवं पदाधिकारीहरू सरकारले चुन्नेछ। सरकारले आफ्नो चित्त नबुझे अध्यक्ष हटाउन पनि सक्नेछ। यस्तै, आचारसंहिता मिच्ने पत्रकारलाई १० लाखसम्म जरिवाना गराउन सक्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार