logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोलिटब्युरो छान्‍न प्रचण्डलाई सकस, नाम काट्दै थप्दै


  • एजेन्सी
  • मंगलबार, जेष्ठ ७ २०७६

सत्तारुढ दल नेकपाभित्र पोलिटब्यूरो सदस्य छनोटमा अझै सहमति जुटेको छैन।

तत्कालीन माओवादीतर्फका नेता छनोटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय लगाएपछि पोलिटब्युरो गठनमा विलम्ब भएको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

माओवादीभित्र समान हैसियतका नेता धेरै रहेको र तीमध्येबाट सीमित छान्नु पर्ने बाध्यतामा अध्यक्ष दाहाल परेपछि पोलिटब्युरो गठनमा ढिलाइ भएको नेताहरूको भनाइ छ।

कुल केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो गठन गर्ने व्यवस्था नेकपाको विधानमा छ। यसो हुँदा ४ सय ४१ सदस्यीय केन्द्रीय समितिबाट १ सय ४७ जना मात्र पोलिटब्युरो सदस्य हुनेछन्। त्यसमा पनि तत्कालीन एमालेका ८१ र माओवादीका ६६ जना रहने गरी पोलिटब्युरोमा भागबन्डा भइसकेको छ।

एमालेतर्फ २ सदस्यको नाममा विवाद छ भने माओवादीतर्फ करिब १२ जनाको नाममा विवाद छ। एमालेतर्फ राजेन्द्र राई र विजय सुब्बामध्ये एक र ठाकुर गैरे र गौरी वलीमध्ये एकको नाममा विवाद मिलेको छैन।

माओवादी तर्फ भने तत्कालीन ९९ सदस्यीय सचिवालयबाट छनोट गर्दा पनि ३३ नेता पोलिटब्युरोको ‘रिङ’ बाहिर पर्ने भएपछि दाहाललाई सचिवालयबाट छान्न कठिन भएको छ। दाहालले अर्का नेता रामबहादुर थापासँगको परामर्शका आधारमा यसअघि स्थायी समितिकासहित थप ४७ गरी ६६ नेताको नाम छनोट गरेका पनि थिए।

त्यो सूची पार्टीले निर्णय गर्नुअघि नै सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि दाहाल अप्ठ्यारोमा परेका हुन्। सूचीमा नपरेका झन्डै एक दर्जन नेताले गरेको गुनासो र आफ्नै समूहका नेताले पनि छनोटमा असन्तुष्टि जनाएपछि दाहाल नाम हेरफेर गर्ने सोचमा पुगेको उनीनिकट नेताहरू बताउँछन्।

जेठ २ को बैठकमै पोलिटब्युरो टुंगो लगाउने छलफलको योजना सचिवालयले बनाएको थियो। तर बैठकमा दाहालले आफ्नातर्फबाट अर्को बैठकमा मात्र पोलिटब्युरोको नाम ल्याउने, पहिले तय नाम फेरबदल गरेर नयाँ रोस्टर ल्याउने बताएकाले गठन प्रक्रिया रोकिएको थियो।

उनले बनाएको सूचीमा तत्कालीन माओवादी केन्द्रतर्फका सचिवालय सदस्य नारायण शर्मा पौडेल, तिलक परियार, टंक आङबुहाङ, गंगा कार्की, पुष्पविक्रम मल्ल, रामकुमार शर्मा, कुमार पौडेल, मुक्ति प्रधान, वामदेव क्षेत्री, कमल चौलागाई, लेखनाथ न्यौपाने, इन्द्र आङ्बो, लक्ष्मण पन्तलगायत छनोटमा परेका थिएनन्।

तत्कालीन पार्टी सचिवालयमा रहेका तर अध्यक्षको रोस्टरमा नपरेका नेताले गुनासोसहित दबाब बढाएपछि दाहालले सूची अन्तिम नभएको प्रष्टीकरण दिनुपरेको थियो। आइतबार सचिवालयको बैठक बोलाए पनि गृहकार्य नपुगेको र कार्यव्यस्तता देखाउँदै नेताहरूले दुई पटक स्थगन गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार