राजनीति
पोखरा- दुई परिवारका ९ जनाको ज्यान जाने गरि पाँचथरमा भएको हत्याकाण्डको अनुसन्धानमा प्रहरी सक्रिय छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याकाण्डमा एकजनाको संलग्नता रहेको देखिएको छ । घटनामा संलग्न रहेको आंशका मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका व्यक्तितर्फ सोझिएको छ ।किनकी ती व्यक्ति हत्या भएका बमबहादुर फियाकका ज्वाईँ हुन् । सोमबार राति मिक्लाजुङ–३ मा बमबहादुर र उनका अर्का ज्वाईँ धनराज शेर्माको परिवारका सदस्यको हत्या भएको हो ।
हत्या गरिएका ज्वाइँ-ससुराको घर पन्ध्र मिनेट पैदल दूरी फरकमा छ। शेर्माको घर फियाकको भन्दा दक्षिण पर्छ।वडाध्यक्ष फियाकका अनुसार बमबहादुरसँग उनका कान्छा ज्वाइँको मनमुटाव थियो। कान्छी छोरी र ज्वाइँबीच बारम्बार झगडा हुन्थ्यो।त्यो झगडा मिलाउने मामलामा धनराज र बमबहादुर यदाकदा सक्रिय हुने गरेका थिए। तर, छोरी-ज्वाइँको झगडा साम्य नभएपछि दुबै केही समय पहिलेदेखि अलग्गै बसिरहेका थिए। उनीहरूको घर यही गाउँपालिकाको ७ नम्बर वडामा पर्छ।
स्थानीय बासिन्दाका अनुसार आत्महत्या गरेका मानबहादुर माखिम र हत्या भएको परिवारका बिच विगतमा पनि झगडा हुँदै आएको थियो । एक वर्षअघि पारिवारिक झगडा प्रहरीसम्म पुगेको थियो र प्रहरीको रोहबरमा मिलापत्र भएको थियो ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जानकारी दिए ।उनका अनुसार अहिले प्रहरी उनकै संलग्नता रहेको निष्कर्षमा पुगिनसकेको भएपनि प्राप्त तथ्यहरुलाई विष्लेषण गर्दा उनीतर्फ आशंका गर्न सक्ने आधारहरु फेला परेका छन् । आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारीले मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् । सीता पनि आक्रमणबाट घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको प्रवक्ता पोखरेलले जानकारी दिए । सीतालाई उपचारका लागि फिदिम ल्याइएको छ ।हत्या के कारणले भयो भन्नेबारे खुल्न सकेको छैन ।
हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
यसमा सात दिन पहिले भएको नुनमा सिसा मिसाएको घटनालाई पनि जोडेर हेरिएको छ। हत्या गरिएकामध्ये मुना शेर्मा, मनकुमारी फियाक एक साता पहिले सिसा मिसिएको नुन खाँदा बिरामी परेका थिए। आरुबोटेमै सञ्चालित ढाका बुनाइ तालिममा सहभागी भएका उनीहरूले खाजामा राखिएको नुनसँगै सिसा खाएको पत्तो पाएका थिएनन्।
घटनामा उनीहरूसहित आठ जना बिरामी भएका थिए। नुनमा सिसा कसले राख्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहँदै दुई जनासहित परिवारै मारिएका छन्। तर, नुनमा सिसा मिसाएको घटनामा प्रहरीले सात दिनसम्म कसैलाई समातेको थिएन।
नुनमा सिसा मिसाएको घटनामा शंका गरिएका मानबहादुर माखिम झुण्डिएको अवस्थामा घटनास्थलनजिकै मृत फेला परेका छन्। उनी बमबहादुरका कान्छा ज्वाइँ हुन्।
सात दिनसम्म प्रहरीले नुनमा सिसा मिसाउने व्यक्ति पहिचान गर्न नसक्दा अर्को घटना घटेको अनुमान गर्न सकिने वडाध्यक्ष फियाक बताउँछन्। ‘शंका लागेका व्यक्तिलाई प्रहरीले किन यतिका दिन समाएन, यो हत्यामा उनै व्यक्तिको संलग्नता शंका भइरहेको छ,’ उनले भने, ‘प्रहरीको लापरबाहीले यत्रो घटना हुन पुगेको किन नभन्ने?’
एक गैरसरकारी संस्थाद्वारा सञ्चालित ती महिने ढाका तालिममा सहभागी भएका उनीहरूलाई गत आइतबार बिहान खुवाइएको खाजामा नुनमा सिसा मिसाएको थाहा लागेपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।
नुन कम लागेको भन्दै नुन थप गर्ने क्रममा सिसाका कणहरू फेला परेका थिए। किचनमा राखिएको नुनको भाँडामा नै सिसा मिसाइएको भेटिएको थियो।
तालिमकी प्रशिक्षक समेत रहेकी स्थानीय होटल व्यवसाय गर्ने जसमिन फियाक लिम्बूको पसलमा त्यस्तो फेला परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मिलन केन्द्र नेपालको आयोजनामा जिल्ला घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो। तालिमका ६ जना सहभागीसहित जसमिनकी छोरी र अन्य एक गरी ८ जनालाई अस्पताल भर्ना गरिएको थियो।
‘डिभोर्स’का कारण हत्या: प्रहरी
पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या ‘डिभोर्स’ का कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्षले देखाएको छ।
घटनास्थल पुगेका प्रहरीले गरेको रिर्पोटिङको आधार, घटनालाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, अपराध अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालय आइजिपीको सचिवालय टोलीले सामूहिक हत्याको कारण ‘डिभोर्स’ नै हुन सक्ने निष्कर्ष निकालेको हो।