राजनीति
पोखरा- नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता गोली हानी मारिएको घटनामा ‘कहाँ लाग्दा मर्छ, कहाँ लाग्दा बाँच्छ थाहा भएन’ भनेर सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रतिक्रिया दिएका छन् ।
बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको सुरक्षाकर्मीसँगको भिडन्तमा मृत्यु भएको विषयमा टिप्पणी गरेका हुन् ।
‘हामीले प्रहरीको रिपोर्टलाई आधिकारिक मान्ने हो,’ बास्कोटाले भने, ‘गोली कहाँ लाग्दा मान्छे मर्छ, कहाँ लाग्दा बाँच्छ त्यो थाहा भएन ।’
भोजपुरमा प्रहरीको गोली लागेर घाइते भएका ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको उपचारका क्रममा जेठ ८ गते ज्यान गएको थियो । सरकारी पक्षबाट दोहोरो भिडन्त भनिएपनि विप्लवले विज्ञप्ति निकालेर कुनै दोहोरो भिडन्त नभएको जिकिर गरेका छन् ।
आफ्ना कार्यकर्ताको प्रहरीको गोली लागेर मृत्यु भएपछि विप्लवले संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।