logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मधुमेह ले आँखा मा यस्तो असर पार्नसक्छ ?


  • राजनीति
  • शनिबार, जेष्ठ ११ २०७६

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ।  मधुुमेह एक दीर्घरोग हो। जसले शरीरका संवेदनशील अंगहरु आँखा, स्नायु, मुटु, मिर्गौला र खुट्टामा खराब असर गर्छ।
मधमेहका बिरामीहरुमा सामान्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिन्छ। आँखामा हुने समस्यामध्ये डाइबेटिक रेटिनोपेथी दृष्टिविहीन गराउने कारणमध्ये एक प्रमुख कारण हो।

के हो डाइबेटिक रेटिनोपेथी?
मधुमेहको कारणले गर्दा दृष्टिपर्दाका रक्तनलीमा असर पुगी रक्तश्राव र चिल्लो जमेर डाइबेटिक रेटिनोपेथी हुन्छ। जसको समयमै उपचार नभए दृष्टिपर्दामा अत्यधिक सुजन, रक्तश्राव तथा पर्दा उप्कन गई सधैंका लागि दृष्टि गुम्नसक्छ।

मधुमेह भएको २० वर्षको अवधिमा पहिलो प्रकारको मधुमेह रोग लागेका प्रायः सबैजसो बिरामीमा र दोस्रो प्रकारको मधुमेह रोग लागेका करिब ७०—८० प्रतिशत बिरामीमा डाइबेटिक रेटिनोपेथी देखिन्छ।

मधुमेह रोग नियन्त्रणमा नहुने व्यक्तिमा मधुमेह रोग लागेको अवधि बढ्दै जाँदा, गर्भवती अवस्था, उच्च रक्तचाप, रगतमा खराब चिल्लोको मात्रा बढी हुने, रक्तअल्पत्ता भएका व्यक्तिमा मिर्गौलाको समस्या तथा धूमपान गर्ने व्यक्तिहरुमा डाइबेटिक रेटिनोपेथी बढी देखिन्छ।

डाइबेटिक रेटिनोपेथीका लक्षणहरु केके हुन्?
आँखाको दृष्टिपर्दा (रेटिना) मा खराब असर भएपछि पनि कुनै लक्षण देखा नपर्न सक्छ।
आँखा धमिलो हुने, वस्तुको आकृति बाङ्गोटिङ्गो देखिने, अचानक आँखा नदेख्ने जस्ता लक्षणहरु सुरु हुँदासम्म आँखाको दृष्टिपर्दामा अपुरणीय क्षति भइसकेको हुन्छ।

डाइबेटिक रेटिनोपेथी कसरी थाहा पाउने?
नेत्र विशेषत्रद्वारा आँखाको नानी फुलाई दृष्टिपर्दा जाँच गर्दा सुरुको अवस्थामा यो रोगको पहिचान गर्न सकिन्छ।
साथै, विशेष किसिमको फन्डस क्यामेराको माध्यमबाट दृष्टिपर्दाको फोटो खिचेर पनि डाइबेटिक रेटिनोपेथीको पहिचान गर्न सकिन्छ।

डाइबेटिक रेटिनोपेथी भयो भने के गर्ने?
डाइबेटिक रेटिनोपेथीको समयमै लेजर पद्धतिबाट उपचार गर्दा दृष्टि गुम्नबाट बचाउन सकिन्छ। दृष्टिपर्दामा पहिल्यै धेरै असर परिसकेको छ भने दृष्टि पुनः फर्काउन सकिँदैन।
दृष्टिपर्दामा असर देखा परिहालेमा नेत्र विशेषज्ञको सल्लाहअनुसार नियमति परीक्षण तथा उपचार गराउनुपर्छ। रगतमा चिनीको मात्रा, चिल्लोको मात्रा र उच्च रक्तचाप सधैं नियन्त्रणमा राख्नुपर्छ।

डाइबेटिक रेटिनोपेथीको रोकथाम कसरी गर्ने?
मधुमेह रोगको समयमै पहिचान गर्नुपर्छ। मधुमेहका बिरामीले रगतमा चिनीको मात्रा, चिल्लोको मात्रा र उच्च रक्तचाप सधैं नियन्त्रणमा राख्नुका साथै धूमपानबाट टाढा रहनुपर्छ।
मधुमेह रोगको पहिचान हुनासाथ आँखाको दृष्टिपर्दाको जाँच गराउनुपर्छ। प्रत्येक वर्ष कम्तीमा एक पटक आँखाको पर्दाको परीक्षण पनि गराउनुपर्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार