पोखरा- पोखरामा सोमबार दिउँसो हावाहुरीका साथ भीषण वर्षा भएको छ।पोखरामा करिब २ घण्टामा ५५ मिलिमिटर वर्षा भएको छ।
हावा चल्नेमा भने यो वर्षकै रेर्कड कायम गरेको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ।पानीसँगै प्रतिसेकेण्ड ३० मिटरको गतिमा हावा चलेको क्षेत्रीय हावापानी कार्यालय पोखराका नायब मौसम विज्ञान सहायक सुरेश खनालले जानकारी दिए।
पोखरामा सोमबार साढे दुई बजेदेखि पानी पर्न सुरू भएर साढे ४ बजेसम्म परेको थियो।एक साता अगाडि पोखरामा साढे दुई घण्टामा ५६ दशमलव ७ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए।
केही दिनयता लगातार वर्षा भए पनि सोमबार दिउँसो अत्यधिक वर्षाले पोखरेलीको जीवन अस्तव्यस्त बन्न पुगेको थियो। उनले प्रि–मनसुनसहित स्थानीय प्रभावका कारण पनि पोखरामा छोटो समयमै अत्यधिक वर्षा भएको बताए।
कास्कीको लुम्ले नेपालमै सबभन्दा बढी वर्षा हुने स्थलको रूपमा परिचित छ। सामान्यतया नेपालमा हरेक वर्ष जुन १० देखि मनसुन सुरू भई ३ महिनापछि २३ सेप्टेम्बरसम्म पश्चिमबाट बाहिरिने गर्छ। यसरी हेर्दा मनसुन सुरू हुन अझै १४ दिन बाँकी छ।सेतोपाटीले लेखेको छ।