राजनीति
हेटौंडा —जिल्ला अदालत मकवानपुरले माग गरेअनुसार धरौटी नबुझाएपछि नेकपा विप्लवका मकवानपुर इन्चार्ज वीरबहादुर घलान जेल चलान भएका छन् । सोमबार २५ हजार रुपैयाँ धरौटी लिई घलानलाई तारिखमा छाड्न जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको इजलासले आदेश दिएको थियो ।अदालतको मागअनुसार धरौटी नराखेका कारण अदालतले उनलाई भीमफेदी जेल पठाएको हो। जिल्ला अदालत मकवानपुरमा वैशाख १५ गते १८ हजार रुपैयाँ धरौटी राखेर तारिखमा छुटेका घलानलाई प्रहरीले अदालतको मूल प्रवेशद्वारबाट बाहिरिने क्रममा कुटपिट, अंगभंग र अपराधी उपद्रव गरेको आरोपमा पक्राउ गरेर हिरासतमा राखेको थियो।
चैत २८ गते हेटौंडा उपमहानगरपालिका-८ बाट प्रहरीले घलानलाई पक्राउ गरेको थियो। उनलाई त्यतिबेला अदालतमा विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइएको थियो। जिल्ला अदालतले उक्त मुद्दामा १८ हजार रुपैयाँ धरौटी लिएर तारिखमा छाड्ने आदेश दिएको थियो।
तत्काल धरौटी नराखेकाले उनलाई वैशाख २ गते क्षेत्रीय कारागार भीमफेदीमा पठाइएको थियो। वैशाख १५ गते धरौटी राखेर तारिखमा छुटदा प्रहरीले पक्राउ गरेर पुनः मुद्दा चलाएको थियो।