राजनीति
स्याङ्जा – स्याङ्जाको वालिङस्थित आँधीखोलामा माछा मार्न गएकी एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।
वालिङ नगरपालिका–२ का ६ वर्षीया आयुष्मा गुरुङको मंगलबार मृत्यु भएको हो ।
आयुष्मा आफ्नी आमाको साथमा माछा मार्न खोलामा गएकी थिइन् । खोलाले बगाएको केही बेरमा उनको स्थानीयले उद्धार गरेर अस्पताल पुर्याए पनि उपचारको क्रममा वालिङ अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।मंगलबार दिउसो पोखराबाट बुटवल जाँदै गरेको ना ४ ख २३२२ नम्बरको यात्रुवाहक बसले पुतलीबजार नगरपालिका–१ स्थित बजारमा ७३ वर्षीय बृद्धलाई ठक्कर दिँदा ज्यान गएको छ ।
पुतलीबजार–१३ लाम्पाटाका पूजा भन्ने मनबहादुर दमैलाई बसले ठक्कर दिएको हो । त्यसपछि उनलाई जिल्ला अस्पताल स्याङ्जा लगियो । स्याङ्जाबाट रिफर गरी गण्डकी मेडिकल अस्पताल पुर्याइएकाे थियो । अस्पतालमा उपचारका क्रममा बृद्धको मृत्यु भएको हो ।
चालक चन्द्रबहादुर राना र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक विजयकुमार सिंहले जानकारी दिए ।
पोखरा- स्काभेटरको लाइसेन्स निकालिदिने भन्दै घुस लिदै गरेको अवस्थामा पोखरामा एक व्यक्तिलाई अख्तियारले प्रकाउ गरेको छ।एक व्यक्तिसँग ४० हजार घूस लिँदालिँदै हेवी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरामा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछानेलाई सोमबार राति अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो ।
यसै गरी उनलाई सहयोग गर्ने गरेको भन्दै मेट्रो ड्राइभिङ इन्स्ट्च्यिूटका संचालक खगेन्द्रप्रसाद काफ्लेलाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
लामिछानेले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीबाट लिखित परीक्षा र ट्रायलमा उत्तीर्ण गराइदिने भनी सेवाग्राहीसँग घूस मागेको सूचना र उजुरीका आधारमा घूस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । ड्यामसाइडस्थित बार्दली रेष्टुरेन्ट एन्ड बारबाट दुवैजनालाई पक्राउ गरिएको हो ।
यसैगरी ड्राइभिङ इन्स्टिच्युटका संचालक काफ्लेको साथबाट १ लाख ६ हजार नगद, डायरीलगायत अन्य प्रमाणहरु बरामद भएको अख्तियार स्रोतले जनाएको छ ।
लाइसेन्स निकालिदिने भन्दै काफ्लेले विभिन्न व्यक्तिबाट उक्त रकम लिएका थिए । सत्यतथ्य एकिन गर्न र यातायात कार्यालयका कर्मचारीको संलग्नता भएनभएको बारे थप छानबिन भइरहेको अख्तियारले जनाएको छ ।