राजनीति
पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार लोकतन्त्र तथा गणतन्त्र मास्न लागि परेको भन्दै आलोचना गरेका छन् ।
नेपाली कांग्रेसले काठमाडौँको शान्ति बाटिकामा १२ औँ गणतन्त्र दिवसको अवसरमा गरेको विशेष कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ओली नेतृत्वको वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रकै विपक्षमा देखिएको बताएका हुन् ।
उनले भने, ‘हामीले बराम्बार दुःख दिँदै आएको व्यवस्था (राजतन्त्र) अन्त्य गरेर लोकतन्त्र तथा गणतन्त्र ल्याएका हौँ । तर अहिलेको सरकार यो व्यवस्था नै मास्न तर्फ लागेको देखिन्छ ।’
वर्तमान सरकारले विधेयकहरु मार्फत सञ्चार जगत र मानवअधिकार आयोगमाथि नियन्त्रण कायम गर्न लागि परेको देउवाको भनाई छ । सञ्चार र मानवअधिकारसँग सम्बद्ध क्षेत्रमाथिको नियन्त्रणको अर्थ लोकतन्त्र तथा गणतन्त्रमाथिकै नियन्त्रण रहेको देउवाले बताए ।
कांग्रेस सभापति देउवाले सरकारको गतिविधिले गर्दा फेरि लोकतन्त्र एवम् गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तासँग आग्रह गरे ।