logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

शुक्लागण्डकी नगरपालिका–१२ ले विपन्न तथा बाख्रापालक कृषकलाई अनुदान रकम वितरण


  • राजनीति
  • बिहिबार, जेष्ठ १६ २०७६

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले विपन्न तथा बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका विपन्न बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरिएको हो ।

पचास कृषकलाई जनही २० हजारदेखि १ लाखसम्म अनुदान वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिएका छन् । उनका अनुसार अगुवा किसान तीलबहादुर गुरुङ र मीनबहादुर गुरुङलाई जनही एकएक लाख अनुदान वितरण गरिएको छ । उनले भने – “दुवैले व्यवस्थित तरिकाले आधुनिक खोरमा १५ भन्दा बढी माउ बाख्रा पालेकाले रु एक लाख अनुदान प्रदान गरेका हाैँ ।”

पशुपालन र कुखुरापालन गर्न खोेर निर्माण गरेका ११ विपन्न परिवारलाई २० हजारका दरले अनुदान रकम वितरण गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार कुखुरा र बाख्रापालन गर्न खोर बनाएका तर लगानी गर्नसक्ने अवस्था नभएका किसान छनोट गरी २० हजारका दरले अनुदान उपलब्ध गराइएको छ । अठ्ठाइस् बाख्रापालक किसानलाई ३० हजारका दरले अनुदान वितरण गरिएको छ ।

३० हजार पाएका किसानले कम्तीमा पाँच वटा माउ बाख्रा र व्यवस्थित खोर बनाएका छन् । दश भन्दा बढी माउ बाख्रा पालेका र व्यवस्थित खोर बनाएका नौ किसानलाई रु ५० हजारका दरले अनुदान वितरण गरिएको छ ।

चालू आर्थिक वर्षमा विनियोजित २२ लाख बजेटबाट किसानले बनाएको व्यवस्थित बाख्राको खोर, बाख्राको सङ्ख्या र विपन्नतालाई मूल्याङ्कन गरी अनुदान वितरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिएका छन् । उनले भने – “अनुदान पाएका किसानले अनुदान रकमको सदुपयोग गरेनगरेको अनुगमन गर्छौँ । दुरुपयोग भएमा तत्काल अनुदान जफत समेत गर्न सकिनेछ ।” त्यस्तै वडाले सात भैँसीपालक किसानलाई २५ प्रतिशत अनुदानमा ३५ हजार बढी मूल्य पर्ने घाँस काट्ने मेसिन समेत वितरण गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार