राजनीति
पोखरा- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण भएको घटना सार्वजनिक भएपछि तीन सुरक्षा निकायका प्रमुखबाट ब्रिफिङ लिएका छन् ।
सोमबार दिउँसो गृहमन्त्री थापालाई नेपाल प्रहरी प्रमुख महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले घटनाबारे ब्रिफिङ गरेका हुन् ।
गृह स्रोतका अनुसार ब्रिफिङमा गृह सचिव प्रेमकुमार राई र शान्ति, सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ पनि उपस्थित थिए ।
सहभागी एक अधिकारीका अनुुसार सुरक्षा प्रमुखले आ–आफ्नो रिपोर्ट गृहमन्त्री थापालाई सुनाएका थिए । ‘छेस्काममा ३० देखि ४० जनाको संख्यामा हतियारधारी व्यक्तिको मुभमेन्ट देखिएको थियो’, एक सुरक्षा प्रमुखको रिपोर्टलाई उधृत गर्दै स्रोतले भन्यो, ‘प्रहरी चौकीमा हान्न लागेको आशंकामा त्यहाँको टोली अन्यत्र सरेको थियो ।’
प्रहरीको पाएको अग्रिम सूचना र अपनाइएको सावधानीका कारण क्षति हुन नपाएको सुरक्षा निकायको रिपोर्ट छ ।
व्रिफिङपछि आवश्यकता अनुसार मुलुकको विकट क्षेत्रमा रहेका प्रहरी कार्यालयमा थप मद्दत पठाउन गृहमन्त्री थापाले निर्देशन दिएका थिए । विप्लव नेता÷कार्यकर्तालाई लक्षित गरेर पहाडी क्षेत्रमा प्रहरी र सशस्त्रको संयुक्त अपरेशन चलाउने विषयमा पनि छलफल भएको स्रोतको दाबी छ ।
गएराति चौकीमा आक्रमण भएको विषयलाई लिएर विप्लव समूहले भने विज्ञप्ति जारी गर्दै आफूहरुको संलग्नता नरहेको दाबी गरेको छ ।