राजनीति
पोखरा- रसुवास्थित त्रिशूली नदीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार तीन जना अझै बेपत्ता भएका छन्।११ जना सवार टाटासुमो सडकबाट त्रिशूली नदीमा खसेकाे हाे।
सोमबार साँझ मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घलेको मृत्यु भएको छ।
दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए।
दुर्घटनामा टाटासुमो चालक ३२ वर्षीय निमा तामाङ, ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन्।घाइतेलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ।
टाटासुमो सडकबाट करीब एक सय मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीले जानकारी दिए।जिप नदीमा डुबेकाले वेपत्ता भएका तीनजनालाई त्रिशुलीले बगाएको आशंका गरिएको छ।
घाइते र मृतकको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले उद्धार गरेको छ। चालकको लापरबाहीले दुर्घटन भएको प्रहरीले जनाएको छ।