जेठ २० गते सोमबार बिहान नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ताले सोलुखुम्बु, महाकुलुङ गाउँपालिका– ३ स्थित छेस्काम प्रहरी चौकी कब्जा प्रयास गरेको समाचार फैलियो। सञ्चारमाध्यमले विप्लव नेकपाले प्रहरी चौकी कब्जाको असफल प्रयास गरेको समाचार भाइरल बनाए । त्यती मात्र होइन गृहमन्त्रीले सुरक्षा समितिको बैठक नै बोलाए । एक हिसावले सिंहदवार भित्र खैलाबैला नै मच्चियो ।
नेपाल प्रहरी प्रधान कार्यालयले हेलिकप्टरमार्फत् छेस्काममा थप प्रहरी पुर्यायो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज डिएसपी शालिकराम शर्मा भनिएको आफैं पनि घटनास्थल गए। प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले सोमबार बिहान जिल्ला सुरक्षा समितिको बैठक राखेर गृह मन्त्रालयमा थप प्रहरी परिचालन गर्न आग्रह गरेपछि प्रहरी हेडक्वाटर्रले हेलिकप्टरमा थप सुरक्षाकर्मी पठायो । प्रदेश १ प्रहरी कार्यालयले समेत थप प्रहरी परिचालन गर्यो।
सदरमुकाम सल्लेरीबाट करिब १५ कोश टाढा रहेको संखुवासभा, भोजपुर र खोटाङसँग समेत सिमाना जोडिएको महाकुलुङ गएको टोली फर्किएको छैन। उक्त गाउँपालिकामा लघुजलविद्युत आयोजना बिग्रिएकाले नेपाल टेलिकमको फोनमा सम्पर्क हुनसकेको छैन । एनसेलले उक्त क्षेत्रमा सेवा विस्तार गरेको छैन। विद्युत नभएपछि सेवा अवरुद्ध भएपछि छेस्काममै रहेको टेलिकमको टावरले काम गरेको छैन । सञ्चार सम्पर्क नभएपछि सोमबार अधिकांश समाचार अनुमानका भरमा सम्प्रेषण गरिएका थिए।
के हो वास्तविकता ?
आइतबार राति विप्लव नेकपाका कार्यकर्ता प्रहरी चौकी आक्रमणमा आएको घटना सत्य नभएको स्थानीय बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेल आफैंले प्रहरी चौकी आक्रमणको घटना पुष्टि नहुने बताएका छन्। उनले वास्तविक घटना के हो भन्नेबारे अनुसन्धान जारी रहेको प्रतिक्रिया दिएका छन्।
गाउँपालिका अध्यक्ष सागर किरातीले पनि प्रहरी चौकी कब्जाको प्रयास नभएको जानकारी दिए । उनले आफू सदरमुकाममा रहेको र गाउँका अन्यसँग सम्पर्क गर्दा आक्रमणको प्रयास नभएको बुझेको जानकारी दिए। उनकाअनुसार प्रहरीहरू अनावश्यक रूपमा डराएकाले यस्तो परिस्थिति निर्माण भएको हो।
आइतबार राति छेस्कामबाट गुदेलतर्फ जाने बाटो खन्दै गरेको डोजरको अपरेटर घाइते भएपछि उद्धार गरेर लिएर आएको टोली विप्लवका कार्यकर्ता ठानेर प्रहरी भागेको स्रोतले बतायो। राति करिब साढे १० बजे डोजर अपरेटर पुरुषोत्तम मगर घाइते भएपछि १०/१२ जनाले बोकेर अस्पतालतर्फ ल्याएका थिए। उनी राती शाैच गर्न निस्किदा चिप्लिएर लडेका थिए। राति साेही समूहलाई देखेको प्रहरीले विप्लव कार्यकर्ता सम्झेर डरले हतियारसहित चौकी छाडेर डाँडामा निस्केर बसेको स्रोतको दाबी छ।
प्रहरी चौकी छेस्काममा असई हीराप्रसाद देवकोटाको कमान्डमा सात प्रहरी बस्दै आएका छन्। डाडाँमा निस्केर राति नै असई देवकोटाले जिल्लामा चौकी आक्रमण गर्न आएको सूचना टिपाएको र प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले मन्त्रालयमा जानकारी गराएका थिए।
प्रजिअ मगरले बाहिर हल्ला भएजस्तो घटना नभएको बताए। उनले विप्लवको गतिविधि बढेकोले सुरक्षा सतर्कता अपनाइएको मात्र दाबी गरे। ‘सञ्चारमाध्यममा आएजस्तो राति आक्रमणमा आएको घटना सत्य होइन,’ उनले भने, ‘उनीहरूको गतिविधि बढेको कारणले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न थप प्रहरी परिचालन गरिएको हो।’
उनले प्रहरीले चौकी छाडेर नगएको समेत दाबी गरे। तर, प्रहरी चौकीको गलत रिपोर्टिङका कारण एक्कासि सुरक्षा संयन्त्र तरंगित हुन पुगेको स्रोतको दाबी छ। आक्रमणको रिपोर्टिङ नभएको भए एक्कासि सुरक्षा संयन्त्रको आकस्मिक बैठक बस्नु, प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट थप फोर्स मगाउनु अस्वाभाविक भएको स्रोतको दाबी छ।
चौकी झुक्कियो की तर्सियो
महाकुलुङ क्षेत्रमा पछिल्ला केही महिनादेखि विप्लव कार्यकर्ताको गतिविधि देखिएको थियो। केही कार्यकर्ता बेलाबेलामा गाउँ निस्कने, वाल पेन्टिङ गर्नेलगायत कार्य गर्दै आएका थिए। स्थानीयका अनुसार तीन दिनअघि छेस्काम चोकमा समेत १६/१७ जना अपरिचित व्यक्ति एक्कासि देखा परे। उनीहरूले चोकमा खाजा खाएर गएका थिए।
भोजपुरबाट आएको सो समूहले स्थानीयलाई रोजगारीका लागि नाम्चे हिँडेको भनेर बताएका थिए। यद्यपि, ट्रेकिङको सिजन सकिएकाले नाम्चेमा अहिले राजगारी पाइन्नँ। गाउँलेले सो समूह माओवादी कार्यकर्ता भएको सहजै अनुमान गरे। सो समूह देखेपछि प्रहरी चौकी छेस्काममा कार्यरत प्रहरीहरू थर्कमान भएको स्रोतको दाबी छ। भित्रभित्रै डराइरहेको प्रहरीले घाइतेको उद्धार गरेर आएको समूहलाई नै माओवादी कार्यकर्ता सम्झेर चौकी छाडेर रातभर डाडाँमा बसेको स्थानीयको भनाइ छ ।
विप्लव नेकपा को अवस्था ?
प्रतिबन्ध लगाएपछि सरकार विप्वल नेकपा प्रति आक्रमक बनेको छ। सरकारले नेकपाका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेपछि काउन्टर प्लान बनाउने तर सुरक्षा निकायलाइ आक्रमण गर्ने निति नभएको दोहोराउदै आएको अवस्थामा आक्रमणको प्रयास भएको कुरा पत्याउन नसकिने विश्लेषक बताउँछन्।
महाकुलुङमा केही समय फाट्टफुट्ट देखापरेका कार्यकर्ता प्रहरी चौकी आक्रमण गर्ने सोच नदेखिएको स्थानीय नै बताउँछन्। विप्लवका कार्यकर्ता घना जंगलबीचमा रहेको महाकुलुङ–५ स्थित नुर्कुम, सानामलगायत गाउँमा मात्र २÷३ जनाको समूहमा देखापर्ने गरेको उनीहरुको भनाई छ। पहिलोपटक छेस्काममा १६/१७ जनाको संख्यामा देखा परेको स्थानीयको भनाइ छ।
एक्कासि हेलिकप्टरमार्फत् प्रहरीले गस्ती सुरु गरेपछि मात्र आफूले थाहा पाएको महाकुलुङका स्थानिय बताउछ्न । सुरक्षाको कारण आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै उनले आइतबार राति नेकपाले आक्रमणको प्रयास गरेको घटना कुनै पनि हालतमा सत्य हुन नसक्ने दाबी गरे।