राजनीति
पत्रकारलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी नेकपाको सम्पर्कबाहिर छन् । नेकपा प्रदेश १ का सदस्य चौधरी तत्कालीन एमालेको टिकटबाट मेयरमा निर्वाचित भएका हुन् ।
नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले चौधरी पार्टी सम्पर्कबाहिर रहेको बताए । ‘सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘उहाँसँग सम्पर्क स्थापित गर्न काठमाडौं, प्रदेश र सुनसरीका साथीहरूलाई पार्टीले खटाएको छ ।’
इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले पनि केही दिनयता प्रमुखसँग सम्पर्क नभएको बताइन् । ‘उहाँ एउटा कार्यक्रममा भाग लिन नेपालगन्ज जानुभएको छ तर सम्पर्क हुन सकेको छैन,’ उनले भनिन्, ‘शुक्रबार आउने भन्नुभएको थियो, आएपछि घटनाबारे छलफल गर्छौं ।’ चौधरीको मोबाइल स्विच अफ छ ।
पत्रकारमाथि जथाभावी बोलेर चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कारवाही गर्ने तयारी गरिरहेको बुझेपछि उनी सम्पर्क बाहिरिएका हुनसक्नने बुझिएको छ। तर, उनलाई पदबाट बर्खास्त नगर्ने अनौपचारिक छलफलमा टुङ्ग्याइएको छ ।
नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार मेयर चौधरीबारे प्रधानमन्त्री निवास बालुवाटारमा पनि लामो समय नेकपा नेताहरुबीच छलफल भएको थियो । यसमा केन्द्रले केही नगर्ने निर्णय गरेसँगै उनीमाथि कारवाही गर्ने वा के गर्ने भन्ने निर्णय दिनका लागि प्रदेशलाई जिम्मेवारी दिने अनौपचारिक छलफलको निष्कर्ष निस्किएको छ ।
‘पार्टीले मेयर चौधरीमाथि एक्सन त लिन्छ,’ ती केन्द्रीय सदस्यले बताए, ‘तर, उनलाई निलम्बन नै चाहिँ गर्दैन । यसबारे छलफल गर्न प्रदेश सदस्यहरुलाई केन्द्रबाट निर्देशन गरिसकिएको छ
चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको भन्दै धम्क्याएका थिए । अनुपमले फेसबुकमा पोस्ट गरेको फोटोमा चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेका थिए । उक्त विषयमा चौधरीलाई फोन गरेपछि नाकको हड्डी भाँचिदिने धम्की दिएका थिए ।