राजनीति
नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाको सहायक संगठनको सिन्धुलीको दुधौलि नगरपालिका अरुदमारमा आज (शनिबार) युवा संघ नेपालको दोस्रो भेलामा प्रहरी र युवाहरुबीच झडप भएको छ ।
प्राप्त समाचार अनुसार उक्त जिल्ला भेलामा २ सय ६० जना भन्दा बढी युवा र नेकपाका केन्द्रीय सदस्य देवनारायण शाहको उपस्थितिमा कार्यक्रम शुरु हुन लाग्दा प्रहरी सो कार्यक्रम स्थलमा पुगेपछि होहल्ला हुँदै युवाहरुले प्रहरीको घेरा तोड्न सफल भएका थिए । प्रहरीले गाउँ घेरा हाली सर्च अभियान चलाई स्थानीय सर्वसाधारणलाई भयवित बनाइरहेको नेकपाका सिन्धुली जिल्ला सेक्रेटरी दिनेश शारुले बताएका छन् । सिन्धुलीको दक्षिणपुर्व र उदयपुरको कटारी बजार नजिकै कार्यक्रमस्थल पर्दछ ।
यो पनि पढ्नुहोस
नेकपामा जिम्मेवारी हेरफेर, नयाँ सैन्य भर्नाको तयारी
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कमाण्ड र ब्युरो नेतृत्व फेरबदल गरेको छ।
स्रोतका अनुसार महासचिव विप्लवले हेडक्वार्टरको प्रत्यक्ष निगरानीमा मध्यकमाण्डलाई राखेका छन्। त्यसको जिम्मेवारी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ दिइएको छ।
हेमन्तप्रकाश ओली ‘सुर्दशन’ पक्राउ परेपछि बलियो मानिएको मध्यकमाण्ड कमजोर बनेको विश्लेषण पार्टीले गरेको छ ।
प्रहरीले २२ साउन २०७५ मा पक्राउ गरेका प्रकाण्ड केही महिनापछि सर्वोच्चको आदेशले रिहा भएका थिए। पक्राउ पर्नुअघि उनी पार्टीको अर्थ विभाग प्रमुख थिए ।‘आर्थिक विभागमा प्रकाण्डसहित अर्का एक जना हेडक्वार्टरले तोकेका व्यक्ति रहने निर्णय भएको छ’, स्रोतको दावी रहेको छ ।
पूर्वी कमाण्डमा रहेका अनिल शर्मा बिरहीलाई प्रकाशनको जिम्मेबारी दिँदै कमाण्डको नेतृत्व ‘विषम’ लाई दिइएको छ। पार्टीको पूर्वी कमाण्डको मुख्यालय समेत तोकिएको छ। पूर्वी कमाण्डका लागि ‘बिषम’सहित ‘शिलु’ जिम्मेवारी तोकिएको छ।
विप्लव नेतृत्वको पार्टीको यसअघिको जिम्मेवारी
विप्लव नेतृत्वको पार्टीको यसअघिको जिम्मेवारी
प्रकाशन, प्रसारण तथा सम्बन्ध बिस्तारसहित रातोखबर पत्रिका र अनलाइनलाइ अझै प्रभावकारी बनाउने जिम्मेबारी ‘बिरही’ र ‘मुकुन्द’टोलीलाई दिइएको छ।
मध्य तथा सुदुपश्चिम कमाण्ड तथा अन्तर्राष्ट्रिय ‘कञ्चन’लाई यथावत राखिएको छ।
विप्लवले लुम्बिनी–गण्डकी ब्युरो बनाएर त्यसको जिम्मेबारी पोलिट्ब्युरो सदस्य समेत रहेका ‘बीरजंग’लाई दिएका छन्। यस्तै सेती महाकाली ब्युरोको जिम्मेबारी ‘निर्माण’ लाई दिइएको हो।
पार्टीमा विप्लवसहित ५ स्थायी समिति सदस्य रहेकोमा सुर्दशन पक्राउपछि ४ जनामात्र बाँकी छन्। १३ सदस्यीय रहेको पोलिट्ब्युरो समेत खुम्चिएको छ। जनवर्गीय संगठन र प्रवाससहित २० वटा ब्युरो रहेकोमा कमाण्डरहरु पक्राउ परेपछि ब्युरो समेत गाभिएका हुन्। महासचिव विप्लवले कतिपय कमाण्ड र ब्युरो गाभेको स्रोतले बतायो।
नयाँ सैन्य भर्नाको तयारी
हेडक्वार्टर सेक्रेटर ‘ध्रुव’लाई नै निरन्तरता दिइएको छ। पार्टी महासचिव विप्लवले सैन्य विभागको जिम्मेबारी आफू मातहत नै राखेका छन्। स्रोतका अनुसार यसलाई संगठित र शक्तिशाली बनाउन नयाँ भर्नालाई व्यापकता दिने निर्णय पार्टीले गरेको छ। प्रतिबन्धित नेकपासँग हाल ४ कम्पनी जनसेना रहेको सरकारी अनुमान छ।
स्रोतका अनुसार पार्टीले पूर्वी कमाण्डमा शक्ति केन्द्रित गरेर गतिविधिलाइ तीब्रता दिएको छ। मध्य कमाण्डका सम्पूर्ण गतिविधि प्रहरीको निसानामा परेपछि पार्टीले पूर्वी कमाण्डमा केन्द्रित भएको हो।
२८ फागुन २०७५ देखि सरकारले विप्लव नेतृत्वको पार्टीका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाएको छ। त्यसयता प्रहरीले ५ सय जना पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता पक्राउ गरेको छ। केही अदालतको आदेशबाट छुटेका छन्।
प्रहरीले महत्वपूर्ण जिम्मेबारीमा रहेका हेमन्तप्रकाश ओली, भरत बम, बन्धु चन्द र विजय श्रेष्ठलाई पक्राउ गरेको छ। हाल उनीहरु थुनामा छन्। यधपी यि सबै बारेमा नेकपाको कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।