राजनीति
सरकारत प्रतिबन्धित नेकपाले माथिल्लो कर्णाली परियाेजना जि एम आरमाथि आक्रमणको जिम्मेवारी लिएकाे छ। माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा शनिबार भएको बिस्फोटको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको हाे ।
नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली व्युरो इन्चार्ज निर्माणले आइतबार एक विज्ञप्ति जारी गर्दै माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाल र नेपाली जनताको हित र जनचाहना विरुद्ध भारतीय कम्पनी जीएमआरलाई सुम्पिएर सरकारले राष्ट्रघाती कदम जारी राखेको भन्दै त्यसको बिरोधमा जनस्तरबाट उक्त कार्वाही गरिएको बताएका छन् ।
उक्त परियोजना नेपाली लगानी र प्रविधिमा नेपालले नै बनाउनु पर्ने र सो परियोजनामा स्थानीय जनताको प्रत्यक्ष सहभागीतामा निर्माण हुनुपर्ने विषयमामा आफ्नो पार्टीले बारम्बार सम्बन्धीत पक्षको ध्यानाकर्षण गर्दै आएको तर सरकारले नेपाल र नेपाली जनताको हित र जनचाहना विरुद्ध भारतीय कम्पनी जीएमआरलाई सो परियोजना सुम्पेकोले कारवाही गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।
‘परियोजनाको माथिल्लो र तल्लो तटको पुरै क्षेत्रमा जीएमआर कम्पनीको अनुमति बेगर कसैले पनि बिद्युत उत्पादन तथा कुनै आयोजना सञ्चालन गर्न नपाइने जस्ता राट्रघाती सम्झौता गरिएको हुनाले सुरुवातदेखि नै हामीले विरोध गर्दै आएका थियौं । पावरहाउसको तल्लो तटमा पर्ने बाँके र बर्दीयालगायतका जिल्लाहरुमा हिँउदमा सुख्खा हुने र बर्षायाममा बाढी पहिरोले गम्भीर क्षती पुर्याउने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने निश्चित हुँदाहुँदै सरकारले सोही कम्पनीलाई परियोजना सुम्पिएर राष्ट्रघाती कदम जारी राखेकाले चेतावनी स्वरुप अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान हाम्रो पार्टीको नेतृत्वमा जनस्तरबाट उक्त कार्वाही गरिएको जानकारी गराउछौ ’ विज्ञप्तिमा भनिएको छ ।
नेकपाले नेपालको चौतर्फी अहित गर्ने, दलाल नेता, नीति निर्माता पोस्ने, भारतीय साम्राज्यवादलाई पोस्ने कार्य बन्द गर्न र त्यसप्रकारको राष्ट्रघाती कार्यमा संलग्न नहुन पनि सबैमा अपिल गरेको छ । साथै परियोजनाका कुनैपनि कार्यहरु अघि बढाएर अटेरी गरिरहेमा पार्टीले त्यसको प्रतिकार गर्ने र त्यसबाट आउन सक्ने कुनै पनि परिणामको जवाफदेही सरकार र लगानीकर्ता नै हुनुपर्ने नेकपाको चेतावनी छ ।
अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो । बिस्फोटबाट जलविद्युत परियोजनाको कार्यालय र नजिकैको शौचालय पुर्णरुपमा ध्वस्त भएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको थियाेे ।
यश अघि पनि विप्लव नेतृत्वको नेकपा ले जिएमआरलाइ कयाैन पटक निसाना बनाइसकेकाे छ।
