logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बादलको खानपान बालुवाटारमा, ओलिले भने ‘नेतृत्व लिन तयार हुनुस’


  • पत्रपत्रिका
  • शनिबार, जेष्ठ ३२ २०७६

घोषणाको अन्तिम क्षणमा आएर रोकिएको नेकपाको पोलिट्ब्युरो गठन थप पेचिलो बनेको छ। बर्चश्वको लडाइँकाबीच विधानमा व्यवस्था भएको कमिटी गठन गर्न पनि नेताहरु आनाकानी गरिरहेका छन्।

नेकपाका उच्च स्रोतका अनुसार, पोलिट्ब्युरो गठन नगर्ने विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै ठाउँ पुगेका छन्। नेकपा सचिवालयका एक सदस्यका अनुसार अध्यक्ष ओली यसै पनि पोलिट्ब्युरो गठनको पक्षमा थिएनन्। धेरै कमिटी हुँदा धेरै बैठक बोलाउनु पर्ने झन्झटले गर्दा ओलीले सुरुमै पोलिट्ब्युरो गठन प्रस्तावमाथि प्रश्न उठाएका थिए।

गत मंसिर २९ देखि पुस १२ गतेसम्म बसेको स्थायी समिति बैठकमा पोलिट्ब्युरो गठनको एजेन्डा नै नल्याइएकोमा बरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुले विरोध गरेपछि यो एजेन्डाले प्रवेश पाएको थियो। त्यसयता पटकपटक यस विषयमा बैठक बसेर नाम तय भए पनि सम्भावित नयाँ समीकरणका कारण पोलिट्ब्युरो गठन नहुने सम्भावना बढ्दै गएको नेताहरू अनौपचारिक कुराकानीमा बताउँछन्।

अध्यक्ष ओलीले पोलिट्ब्युरो गठनमा रुचि नदिनुका पछाडि आफू पक्षधरको संख्या कम हुनु प्रमुख कारण रहेको धेरैको बुझाइ छ। त्यस्तै बरिष्ठ नेता माधव नेपालले पोलिट्ब्युरो गठनमा विशेष जोड दिनुका पछाडि चाहिँ हिसावकिताबमा आफु माथि परेकाले हो।

सामान्यतः पोलिट्ब्युरोमा केन्द्रीय सदस्यहरुमध्ये बरिष्ठताका आधारमा चयन गरिने भएकाले त्यसबाट नेपाल पक्षलाई फाइदा छ। पूर्वएमालेका पक्षमा परेका ८२ सदस्यमध्ये नयाँ २३ जनाको नाम तय गर्दा नेपाल पक्षधर १३ परेका छन्।

अध्यक्ष दाहालले पोलिटब्युरोका लागि पहिले ६७ जनाको नाम तय गरे पनि त्यही बीचमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ सम्बन्धी नयाँ सूचना आएपछि ती नाम फिर्ता लिएका थिए। गृहमन्त्री रहेका थापाले प्रधानमन्त्री ओलीसँग निकटता बढाएको भरपर्दो सूचना पाएर झस्किएका दाहाल महत्वपूर्ण मानिने कमिटीमा थापालाई निर्णायक बनाउने पक्षमा छैनन्।

पूर्वमाओवादीले पाएका ६७ जनामध्ये थापा पक्षधरको संख्या १४ छ, जसले साथ नदिएमा पोलिटब्युरोमा आफू कमजोर हुने विश्लेषण दाहाल पक्षको छ।

पछिल्लो समय गृहमन्त्री थापाका प्रायः साँझ बालुवाटारमा बित्ने गरेको छ, जहाँ उनी प्रधानमन्त्री ओलीसँग नजिक रहेर पार्टी सन्तुलनको हिसाबकिताब गर्नेदेखि खानपिन गर्ने गर्छन्।

राती अबेरसम्म समय दिएर भएपनि प्रधानमन्त्री ओली थापालाई फकाएर आफ्नो पक्षमा राख्ने प्रयासमा छन्।

‘अब हाम्रो पुस्ताका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव, ईश्वर पोखरेल सबैलाई म एउटै डोकामा हालेर लिएर जान्छु, नेतृत्वका लागि तपाईं तयारी गर्नूस्’, ओलीले थापालाई यस्तो भन्ने गरेको सूचना नेकपाको उच्च तहमा फैलिएको छ।

अध्यक्ष दाहाल अझैपनि थापा ओलीतिर लाग्छन् भन्नेमा विश्वस्त छैनन्, तर यस्तो चर्चाले उनलाई हच्काएको छ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई ‘जम्बो’ भन्दै बैठक नबोलाए पनि १ सय ४७ सदस्यीय पोलिट्ब्युरो गठन भएमा बैठकै नबोलाएर धकेल्ने सम्भावना कम हुने हुँदा यसमा ओली सकारात्मक नदेखिएका हुन्।

‘केन्द्रीय कमिटीको बैठक बोलाउँदा भद्रगोल हुन्छ, तर पोलिट्ब्युरो तुलनात्मक रुपमा सानो भएकाले बैठक बोलाउन दवाव पर्छ’, नेकपाको स्थायी कमिटिका एक सदस्य भन्छन्, ‘बैठक नबोलाएमा बोलाउनका लागि हस्ताक्षर अभियान चलाउन पनि सजिलो हुन्छ। सम्भवतः यही बुझेर त्यसलाई टारिएको छ।’-नेपाल खबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार