राजनीति
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री शुक्रबार नयाँ क्वार्टरमा सरेका छन् । झन्डै सवा दुई करोडको लागतमा बनेको निवासमा उनी नरिवल फोड्ने तथा पूजाआजा गरेर नयाँ क्वार्टर प्रवेशको साइत जुराएर सरेका हुन। यसअघि उनी पोखरा महानगरपालिकाले उपलब्ध गराएको गेस्टहाउसमा बस्दै आएका थिए । सरकार गठन भएपछि भने उनी सुरुमा राष्ट्र बैंक गेस्टहाउसमा केही समय बसेका थिए ।
२०७४ फागुनदेखि उनी पार्दीस्थित महानगरको गेस्ट हाउसमा सरे । यो गेस्ट हाउस फेवाताल अतिक्रमण गरेर बनाइएको भन्दै विवादित समेत बनेको थियो । तालको किनारमै रहेको गेस्टहाउसमा १५ महिनाको बसाइपछि शुक्रबार उनी सहिदचोकस्थित नयाँ क्वार्टरमा सरेका हुन् । यो क्वार्टर पनि प्रदेश सरकारको आफ्नै भने होइन ।
जिल्ला प्रशासन कार्यालय कास्कीले प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति बनाएको हो । प्रमुख जिल्ला अधिकारी भने मुख्यमन्त्री कार्यालय भन्दा केही तल जिल्ला कारागार कार्यालय कास्कीको अगाडि रहेको सरकारी क्वार्टरमा बस्दै आएका छन् । शुक्रबार बिहान मुख्यमन्त्री गुरुङले सेतो टीका लगाएर मुख्यमन्त्री गुरुङ पण्डितसँगै पूजाआजामा सामेल भए । त्यहाँ प्रदेशका अन्य मन्त्री तथा प्रदेशसभा सदस्यहरु सहित मुख्यमन्त्रीका आफन्त पनि उपस्थित थिए ।