राजनीति
राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको भिडन्तमा नमारिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
आयोग सदस्य सुदीप पाठक नेतृत्वमा सर्लाही गएको टोलीले सर्लाहीमा दोहोरो भिडन्त पुष्टि गर्न नसकिएको बताएको हो।
सदस्य पाठकले सर्लाहीमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त भएको पुष्टि गर्न आफूहरूलाई गाह्रो भएको बताए।
‘सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त भएको भन्न सकिने अवस्था पुष्टि गर्न गाह्रो छ,’ सर्लाहीबाट मंगलबार फर्केपछि सदस्य पाठकले भने, ‘यसमा हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानको रिपोर्ट भोलिसम्म आउने भएकाले अहिलेलाई यति भन्न सकिन्छ।’
उनले सर्लाहीमा मारिएका विप्लवका जिल्ला इञ्चार्ज पौडेलको शरीर कस्तो थियो, कस्ता दाग थिए, थिएनन् भन्नेबारे फोटो मागेको र घटनामा फरार भनिएका तीन जना मान्छे कहाँ छन् भन्नेबारे अनुसन्धान जारी रहेको बताए।
‘सर्लाही र सिन्धुली जिल्लाको सिमानामा बस्तीभन्दा अलि पर घटना भएको देखिन्छ, यो घटना के हो भन्ने विषयमा मानवअधिकार आयोगले गम्भीरतापूर्वक लिएकैले त्यसमा उत्पन्न शंकाबारे अनुसन्धान थालिएको हो,’ उनले भने, ‘गोली कति वटा लागेको हो, सबै कुराबाट हेर्दा पोष्टमार्टम रिपोर्ट पनि कुर्नुपर्ने भएकाले त्यो मागेका छौं। यसमा फरेन्सिक विज्ञबाट अनुसन्धान पनि जरुरी देखिएकाले त्यताबाट पनि घटनाको विस्तृत बुझिरहेका छौं।’
गत असार ५ गते सर्लाहीको लालबन्दीमा प्रहरीको गोली लागेर पौडेल मारिएका थिए। प्रहरीले भीडन्तका क्रममा पौडेल मारिएको दाबी गरेको छ।