राजनीति
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टीभित्रैबाट आफूलाई असहयोग भएको गुनासो पोखेका छन् । पार्टीभित्रका केही नेताहरुले आफूविरुद्व गलत प्रचारबाजी गरेको भन्दै पछिल्लो समय गृहमन्त्री फेरिने हल्ला समेत चलाउन थालेको गुनासो पोखेका हुन् ।
बादलले गृहमन्त्री फेरि हल्ला चलाइएको भन्दै यो कुरा गृहमन्त्रालयमा आयोजित सुरक्षा निकायका अधिकारी सम्मिलित उच्चस्तरीय बैठकमा समेत राखेको खुलेको छ । बैठकमा सहभागी एक उच्चपदस्थ अधिकारीका अनुसार बादलले मन्त्रिमण्डल फेरिने हल्ला चलाइएको भएपनि त्यसमा कुनै सत्यता नरहेको बताएका थिए ।
‘हाम्रै पार्टीका साथीहरुले मन्त्रिमण्डल चेन्ज हुन्छ, गृहमन्त्री पनि चेन्ज हुन्छन् भनेर हल्ला फैलाइरहनु भएको छ’ बादलको भनाइ उदृत गर्दै बैठकमा सहभागी ती अधिकारीले भने, ‘यस्तो हल्लाले सुरक्षा निकाय कमजोर हुन्छ, अलमलमा पर्छ । यो गलत हो, हल्लाबारे तपाईँहरु सचेत हुनुपर्छ ।’
हाल गृहमन्त्रालयमा कुनै फेरबदल नहुने स्पष्ट पार्दै बादलले सुरक्षा निकायका अधिकारीलाई आफ्नो जिम्मेवारी कुशलतापूर्क पुरा गर्दै शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएका थिए ।
गत आइतबार सुरक्षा निकायका अधिकारीसँग देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनका लागि भएको सो बैठकमा बादलले मन्त्री परिवर्तनबारे कुरा उठाएपछि बैठकको माहोल एकाएक तरङ्ति बन्न पुगेको थियो ।
नेकपा भित्र पछिल्लो समय मन्त्रिमण्डल परिवर्तनको चर्चा चल्दै गर्दा गृहमन्त्री समेत फेरबदल हुने चर्चा चलिरहेको बेला बादलले सुरक्षा निकायका अधिकारीसँगको बैठकमा यस्तो धारणा राखेको बिषयलाइ महत्वका साथ हेरिएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल फेरबदल हुने आशयको अभिव्यक्ति दिँदै आएका छन् भने नेकपाकै अरु केही नेताले पनि यसबारे अभिव्यक्ति दिँदै आएका छन् ।
प्रचण्डले असार ५ गते पोखरा पुगेर संसदबाट बजेट पारित भएलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने बताएका थिए । अहिले दुई अध्यक्ष मन्त्रिमण्डल फेरबदलबारे छलफलमा रहेको बताइएपनि ठोस निष्कर्ष निस्किसकेको छैन।