राजनीति
वर्तमान सरकारको प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपड रावलले स्थायी कर्मचारीहरुलाई लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भाग लिन पाउने कानुनी व्यवस्था हटाउन सरकारसँग माग गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आईतबारको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सांसद रावलले स्थायी कर्मचारीलाई लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भाग लिन पाउने कानुनी व्यवस्था हटाउन सरकारसँग माग गरेका हुन् ।
लोकसेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने स्थायी कर्मचारीहरुले खुला प्रतिस्पर्धामा भाग लिने हो भने राजीनामा दिएर आउनुपर्ने उनको तर्क छ । सांसद रावलले लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा नयाँ नागरिकहरुलाई मौका दिन पनि स्थायी कर्मचारीहरुलाई त्यसमा प्रतिस्पर्धा गर्ने कानुनी प्रावधान हटाउन न्यायोजित हुने पनि स्पष्ट पारे ।
यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भने कार्य सम्पादनमा समस्या नहुने गरी स्थायी कर्मचारीहरुले पनि लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भाग लिँदा फरक नपर्ने धारणा राखेका थिए । तर उनीहरुले लोकसेवा आयोगको तयारीका कारण राम्रो कार्य सम्पादन गरे÷नगरेको भन्ने सरकारले कडा निगरानी राख्नुपर्ने उनको भनाई छ ।
सो विधेयकमा स्थायी कर्मचारीले आन्तरिक र खुला दुवै प्रतिस्पर्धामा भाग लिन पाउने विगतकै प्रावधानलाई निरन्तरता दिइएको छ ।