logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको शुक्लागण्डकी गौ संरक्षण केन्द्रका ४६ गाई मरे


  • रासस
  • सोमबार, असार १६ २०७६

पोखरा-तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका ४६ गाई मरेका छन्। बाघको आक्रमण, स्वास्थ्य जाँच र पोषण अभावमा केन्द्रमा रहेका ४६ गाई मरेका हुन्।

संरक्षण केन्द्रमा तीन महीनाको अवधिमा ४६ गाई मरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार यसअवधिमा बाघको आक्रमणबाट मात्र २० वटा गाई मरेका छन्। श्रेष्ठका अनुसार दैनिकरुपमा गाई थपिने तर खानाको व्यवस्था हुन नसक्दा गाई मर्ने क्रम सुरु भएको हो।

संरक्षण केन्द्र नजिक झाडी रहेकाले बाघले गाईलाई आक्रमण गरेपछि झाडी सफा गरिएको छ। झाडी सफा गरेपछि बाघले गाई आक्रमण गर्न छाडेको छ। संरक्षण केन्द्रलाई व्यवस्थित बनाउन चार वटा सोलार जडान गर्ने तयारी गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। २०५ गाई रहेको संरक्षण केन्द्रमा ३० वटा गाई ब्याउने अवस्थामा रहेको छ। गाईलाई चोकर दाना घाँस र स्वच्छ खानेपानीको व्यवस्था गर्न कठिनाइ भएको छ। गाईलाई दिउँसोको समयमा चौरमा चराउन लैजाने गरिएको छ। परालमा दुई लाख खर्च भइसकेको छ।

वडाध्यक्ष श्रेष्ठका अनुसार केन्द्रमा दिनदिनै गाई थपिने क्रम बढेसँगै आहारा अभाव हुन थालेको छ। गाईलाई पानी खुवाउनका लागि सोही ठाउँमा पोखरी खनिएको छ तर उक्त पानी स्वस्थ छ कि छैन भनेर परीक्षण गर्न समस्या परेको श्रेष्ठले बताए। ‘गाई दैनिकरुपमा थपिँदै जाने र गाईलाई आहारा खुवाउन नसक्दा भविष्यमा समस्या हुन सक्ने देखिएको छ’, उनले भने।

गाईले संरक्षण केन्द्रकै हाताभित्र रहेको दुवो घाँससमेत खाएर सकाएका छन्। जसले संरक्षण केन्द्रको चौर बालुवामा परिणत भएको छ। संरक्षण केन्द्रमा रहेका गाईको हेरचाहका लागि दुई जना हेरालो खटाइएको छ। हेरालोले गाईलाई घाँस भएको ठाउँमा चराउन लैजाने गरेका छन्।

नगरपालिकाको १७ लाख र स्थानीयवासीको तीन लाख गरी २० लाखको लागतमा संरक्षण केन्द्र निर्माण गरिएको हो। वडाध्यक्ष श्रेष्ठका अनुसार गाई संरक्षण केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आउने गरेका छन्। गाई खरीदका लागि मानिस आउने गरे पनि कार्यविधि नबनेका कारण बिक्री गर्न रोक लगाइएको छ।

संरक्षण केन्द्र वरपर चरणका लागि जग्गा अभाव रहेकाले वडाभित्र र वडा बाहिर रहेका ठाउँको खोजी भइरहेको छ। नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्या भएपछि संरक्षण केन्द्र निर्माण गरिएको थियो। छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।

दूध दिन छाडेपछि कृषकले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट समेत गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो। स्थानीय तहको निर्वाचनपछि छाडा चौपायाको विषयलाई तत्काल समाधान गर्न स्थानीयवासीले नगरपालिकालाई पटक–पटक आग्रह गर्दै आएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार