logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको व्यास साँगेखोलामा करेन्ट विष हाल्ने प्रवृत्ति बढेपछि माछा पाउन छाडे


  • राजनीति
  • सोमबार, असार १६ २०७६

पोखरा- तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो। घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनु परेन।

दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्ने गरेका उनलाई आजभोलि दिनमा एकदुई किलो माछा मार्न पनि मुस्किल छ।

साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिएका थापाले आजभोलि खोलामा माछा पाउनै गाह्रो भएको बताए। करेन्ट लगाउने, विष हाल्ने प्रवृत्ति बढेपछि माछा पाउन छाडेको हो।

‘करेन्ट र विष प्रयोग गरी माछा मार्नाले खोलामा माछासँगै अन्य जलप्राणी पनि लोप हुँदै गएको देखिन्छ,’ उनले भने,‘सम्बन्धित निकायले यसलाई रोक लगाउनुपर्छ।’

थापाका अनुसार जाल हानेर भन्दा करेन्ट र विष हाल्दा बढी र छिटो माछा पाइने भएकाले यसको प्रयोग बढ्दो छ। दिभर जालखेल्दा १० किलोसम्म माछा मारेको अनुभव सुनाउँदै उनले अहिले मुस्किलले दुई किलो माछा मार्ने गरेको बताए।

व्यास नगरपालिका–५ पतेनीका जितबहादुर दरैले दुई वर्षदेखि साँगेखोलामा माछा मार्दै आएका छन्। ‘पहिला–पहिला खुट्टामा माछा ठोक्किन्थ्यो, तर अहिले माछा पाउन गाह्रो छ,’ उनले भने।

दरैले बढीमा छसात किलोसम्म माछा मार्ने गरेको बताउँदै आजकल दुई किलो मार्न धौधौ पर्ने जानकारी दिए।

उनका अनुसार साँगेखोलामा माछा निकै कम छ। विष र करेन्ट प्रयोगले माछा लोप हुँदै गएको हुन सक्ने उल्लेख गर्दै यसलाई रोग्नुपर्ने उनको माग छ।

‘माछा मार्न विष र करेन्टको प्रयोग रोक्नुपर्छ’ उनले भने।

साँगखोलाका माछा किलोको १ हजार २ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार