पोखरा- व्यावसायिक कृषि एवं पशुपालनको प्रचुर सम्भावना रहेको पोखरा महानगरपालिका–२० भलाम र मौजाका एक सय ३४ कृषकलाई विभिन्न कृषि सामग्री सहयोग गरिएको छ । उर्वर भूमि भलामलाई कृषि तथा मौजालाई पशुपालनको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यका साथ कृषकहरुलाई रु १० लाख मूल्य बराबरका आधुनिक कृषि तथा पशुपालनका लागि आवश्यक सामग्री वितरण गरिएको हो ।
कृषितर्फ ७७ कृषकलाई रु पाँच लाख र पशुपालनतर्फ ५७ कृषकलाई रु पाँच लाख मूल्य बराबरका अत्याधुनिक सामग्री बीउ पुँजीका रूपमा उन्नत जातको राँगो, बोका र कुखुराका चल्ला वितरण गरिएको वडाअध्यक्ष सिम गुरुङले जानकारी दिए । उनका अनुसार किसानलाई आधुनिक प्रविधिबाट खेती गरी कम लागतमा बढी उत्पादन गर्ने उद्देश्यका साथ २५ कृषकलाई हाते ट्र्याक्टर, टनेल प्लाष्टिक, असिना जाली, फलामे हलो जस्ता सामाग्री वितरण गरिएको हो ।
विशेषगरी बाख्रापालनको नमूना पकेट क्षेत्रको रूपमा परिचित मौजा गाउँका ४३ विपन्न परिवारलाई बीउ पूँजीका रूपमा १५। १५ वटा गिरिराज जातका कुखुराका चल्ला वितरण गरिएको बताउँदै उनले एक जनालाई कुखुरा फर्म सुदृढीकरण, दुई किसानलाई उन्नत जातको बोका खरिदका लागि अनुदान प्रदान गरिएको बताए ।
उक्त अनुदानअन्तर्गत तीन पशुपालक किसानलाई चापकटर(घाँस टुक्र्याउने) मेसिन, तीन जनालाई गोठ सुधार र दुई कृषकलाई खोर सुधार एवम् प्रजनन्का लागि उन्नत जातको राँगो खरिद गर्न अनुदान प्रदान गरिएको छ ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडास्तरीय कृषि विभाग प्रमुख मनमुजा विश्वकर्माका अनुसार कृषकलाई आधुनिक खेतीतर्फ प्रोत्साहन गर्न विभिन्न सामग्री हस्तान्तरण गर्नुका साथै प्राङ्गारिक तथा गड्यौँला मल बनाउने तालीम, मौसमी एवम् बेमौसमी तरकारी खेतीसम्बन्धी तालीम प्रदान गरिएको हो ।
देउराली अर्गानिक सहकारी र पिपलडाली सहकारीलाई एकएक थान, महेन्द्र उच्च मावि बाली विज्ञान अध्ययनका लागि एक थान र मौजा र भलामका चार विपन्न अवस्थाका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर प्रदान गरिएको बताउँदै उनले भने , “मागअनुसार टोलछिमेकीको जग्गा जोतेर आयआर्जन गरी उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।”
विगत वर्षमा प्रदान गरिएको अनुदान रकम वास्तविक किसानसमक्ष नपुगेको गुनासोका आधारमा यस पटक लक्षित वर्गसम्म पुर्उयाने लक्ष्यका साथ वडास्तरमा विभिन्न विषयका छनोट समिति निर्माण गरिको उनको भनाइ छ ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले भलामस्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दै महानगरभित्र उत्पादित कृषिजन्य वस्तु उपयोगलाई पहिलो प्राथमिकतामा राखेको बताए । पोखराको कृषिजन्य उत्पादनमा सम्भावना रहेको वडाहरुलाई आधुनिक कृषितर्फ उन्मुख गराउँदै कृषि एवम् पशुपालनमा आत्मनिर्भर बनाउने महानगरको लक्षय रहेको जिसीको भनाइ थियो ।
उक्त वडाअन्तर्गत मौजा गाउँले मात्र वार्षिक ७० लाख बढी खसी, बोका र बाख्रा बिक्री गरेर बजारको रकम गाउँ लाने गरेको छ भने भलामको फाँटमा बेमौसमी तरकारीको प्रचुर सम्भावना रहेको स्थानीय वासिन्दाको सामूहिक धारणा रहेकोछ ।