राजनीति
काठमाण्डाै स्थित भारतीय दुतावनसले नेपाल सरकारलाई पत्र लेख्दै बिसादी परिक्षण नगर्न दिएकाे निर्देशनात्मक पत्र यस्ताे छ।
काठमाडौँस्थित भारतीय राजदूतावास नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई अभिवादन गर्दै नेपाल सरकारका निकायहरूले सबै ताजा तरकारी तथा फलफूलको आयातमा वनस्पति क्वारेन्टाइन र विषादी स्तर पुनर्परीक्षण लागू गरेको भन्ने विषयमा यस दूतावासले जानकारी पाएको अवगत गराउन चाहान्छ ।
भारतको राष्ट्रिय वनस्पति संरक्षण संस्था तथा कृषि तथा प्रशोधित खाद्य पदार्थ निर्यात विकास प्राधिकरणले नेपालमा निर्यात हुने यस्ता सामग्रीलाई फाइटोस्यानिटरी प्रमाणपत्र प्रदान गर्ने गरेका छन् र यी प्रमाणपत्र नेपाली निकायहरूलाई पनि स्वीकार्य छन् ।
पुनर्परीक्षणको आवश्यकता गैरकर अवरोधजस्तै हो र यसले व्यापार रोकिएको छ । साथै, अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन ।
फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धि तथा विश्व व्यापार सङ्गठनबाट स्थापित मान्यता एवं भारत र नेपालबीच दशकौँदेिखि कायम रहेका द्विपक्षीय व्यापार व्यवस्था अनुरूप नेपाल सरकारका सम्बन्धित निकायलाई यस गैरकर अवरोधको कार्यान्वयन खारेज गर्न र भारतका निकायले जारी गरेका फाइटोस्यानिटरी प्रमाणपत्रका आधारमा यस्ता सामग्रीको आयात खुला गर्न सुझाव दिनका लागि सम्मानित मन्त्रालयलाई आग्रह गरिन्छ ।
उल्लेखित सामग्रीको व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि कुनै तत्व जिम्मेवार भए आवश्यक सूचना तथा कागजात सहित औचित्य पुष्टि गर्नका लागि राजदूतावास सम्मानित मन्त्रालयलाई आग्रह गर्दछ ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई उच्चतम सम्मान व्यक्त गर्नका लागि भारतीय राजदूतावास यो अवसरको उपयोग गर्दछ ।