राजनीति
संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले नेताहरुले भ्रष्टाचार नगरेको भए नेपाल धेरै राम्रो बनिसकेको हुने थियो भन्दै भ्रष्टाचारकै कारण मुलुकको विकासले गति लिन नसकेको बताएका छन् ।
‘भ्रष्टाचारका कारण दुई जना पूर्व कर्मचारीले त आत्महत्या गरे अब राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ’, उनले भने ।
सोमबार बुटवलमा आयोजित एक कार्यक्रमा बोल्दै नेता भण्डारीले काँग्रेसका धेरै नेता भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुला भइरहेका भ्रष्टाचारलाई लुकाइरहेको बताए ।
वाइडबढी, बालुवाटार जग्गा, बूढीगण्डकी, एनसेल लगायतका काण्डका दोषीलाई कारबाही गर्न सरकारले चासो नदिएको उनको आरोप छ ।
काँग्रेस केन्द्रीय सदस्य समेत रहेका भण्डारीले सभापति शेरबहादुर देउवाले पोखरामा हुने उपनिर्वाचनमा पार्टीलाई जिताउन सके सभापतिको कार्यकाल लम्वाउन र नजिते छाड्न सुझाव दिए।
उनले भने, ‘दूध नदिने गाई÷भैसी कहिलेसम्म पालिरहने पोखराको उपनिर्वाचन जिताउनु भयो भने कति लम्बाउने हो लम्वाउनु होला होइन भने सधै कति पाल्ने ?’
उनले सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने भन्दै ५ वर्षसम्म केपी ओलीलाई नै सरकार चलाउन दिनुपर्ने बताए ।
तर भण्डारीले केपी ओली नेतृत्वको सरकारका सवै पखेटाहरुमा खिया लागिसकेको टिप्पणी गरे ।
‘मन्त्रीहरु, आसेपासेहरु खराब छन् यहा त गर्छु भन्दा पनि काम गर्ने अबस्था नै छैन’, उनले भन ।
ओलीले निर्वाचनका बेला देखाएको राष्ट्रवाद अहिले उदांगिदै गएको पनि उनले बताए ।
गुल्मीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन र सहयोग गरी फर्किएका उनले गुल्मीको अवस्था दर्दनाक भएको बताए । केही राष्ट्रिय मिडियाले राजनीति गर्दा गुल्मीको अवस्था थप विकराल बनेको उनको भनाइ छ ।
‘त्यहाँ कति पीडा छ, महामारीको अवस्था छ, केही व्यक्तिले हेलिकप्टरबाट दुई जना बालिकालाई उपचारका लागि लगेको र मिडियाले त्यसैलाइ मात्रै हाइलाइट गर्दा यहाँको वास्तविक अवस्था छायामा पर्यो,’ उनले भने ।
उनले मानवीय हिसावले पार्टी र आफूले ३ लाख नगद सहयोग गरेको उनले बताए । भण्डारीले संघीय र प्रदेश सरकारले पहिरो पिडीतलाई पर्याप्त सहयोग गर्न नसकेको पनि बताए