राजनीति
पोखरा – आइतबार पोखराको राष्ट्र बैंक चोकमा पोखरा २१ का वडा अध्यक्ष खगराज आचार्यमाथि हातपात गर्नेविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ। ब्यक्तिगत रिसइवीका कारण हातपात गरेको भन्दै दाताराम आचार्यलाई प्रहरी कहाँ उजुरी दिएका थिए।
‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाको विषयलाई लिएर हातपात गरेका हुन। आइतबार दिउँसो राष्ट्रबैंक चोकमा जुस खाइरहेका अध्यक्षमाथी दातारामले एक्कासी हातपात गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी उनीमाथि आज (सोमबार) सार्वजनिक मुद्दा चलाइएको छ।
कुटपिटमा संलग्न आचार्य पहिले वडा २१ कै हुन। अहिले बसाइँ सरेर वडा १७ बस्दै आएका छन्। वडा अध्यक्ष आचार्यमाथि हातपात भएको देखेपछि नजिकै रहेका स्थानीयले थप कुटपिट हुनबाट जोगाएका थिए। वडा अध्यक्ष आचार्य नेकपाबाट उम्मेद्वार भएर अध्यक्ष निर्वाचित भएका हुन। उनलाई कुट्ने आचार्य पनि नेकपाकै कार्यकर्ता हुन्।