logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या स्थिर


  • रासस
  • सोमबार, साउन १३ २०७६

कञ्चनपुर– पाटेबाघको सङ्ख्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थिर रहेको पाइएको छ । निकुञ्जमा यस वर्ष वयस्क पाटे बाघको सङ्ख्या १६ रहेको छ । गत वर्षसमेत सोही सङ्ख्यामा बाघको सङ्ख्या निकुञ्जमा रहेको थियो ।

सन् २०१७ मा निकुञ्जमा गणनाका क्रममा १७ वटा वयस्क पाटेबाघ फेला परेका थिए । निकुञ्जमा बाघको बासस्थानमा सुधार, घाँसे मैदान व्यवस्थापन, ताल संरक्षण र आहारा प्रजाति सन्तोषजनकरुपमा रहेकाले बाघको सङ्ख्या स्थिर रहेको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडेलले बताए ।

‘निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्ने भएकाले बाघले सीमा वारपार गर्ने भएकाले पनि बाघको सङ्ख्या कम देखिएको हुन सक्छ’, निकुञ्जका मुख्य संरक्षण अधिकृत पौडेलले भने, ‘यसलाई बाघको सङ्ख्या घटेको भन्न मिल्दैन । क्यामेरा ट्रयापिङमा केही बाघ नदेखिएका पनि हुन सक्छन ।’

निकुञ्जमा पाटेबाघको चोरी शिकारी भएको कुनै अभिलेख छैन । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणनामा सन् २००९ मा शुक्लाफाँटामा बाघको सङ्ख्या १० थियो । सन् २०१३ मा बढेर १७ पुगेको थियो । गएको पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेको पाटे बाघको सङ्ख्या सन् २०१७ मा बढेर १७ पुगेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित वन्यजन्तु (अनुसूची १) मा पाटेबाघ सूचीकृत रहेको छ । सन् १९७४ देखिमात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण कार्य गरिँदै आएको छ । बाघ गणनाको कार्य भने सन् १९९९ देखि निरन्तररुपमा प्रतिवर्ष हुँदै आएको छ । निकुञ्जको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटे बाघको मुख्य बासस्थानका रुपमा रहेको छ ।

सन् २०१० मा रसियाको सेन्टपिटर्स वर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । नेपालमा पाटे बाघको सङ्ख्या भने २३५ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार