राजनीति
मंगलवार बिहान साढे ९ बजे परिवारसहित दुबई उडेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईस्थित संसारकै महँगोमध्येमा पर्ने होटेलमा बसेका छन् । प्रचण्ड दुबईको पाम जुमेरास्थित एट्लान्टिस होटेलमा बस्ने भएका हुन् ।
सपरिवार दुबई पुगेका प्रचण्डलाई त्यहाँका नेकपाका कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
नेकपामा विभागको नेतृत्व टुंगो लगाउन सकस परेपछि १५ दिनसम्म सचिवालय बैठक स्थगित गरेर प्रचण्ड सपरिवार दुबई लागेका हुन् । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार प्रचण्ड नितान्त घुमघामका लागि परिवारसहित दुबई उडेका हुन् ।
प्रचण्डसँगै पत्नी सीता दाहाल, छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि भ्रमणमा रहेका छन् । लामो समयदेखि बिरामी रहेकी पत्नी सीता दाहालको इच्छामा दुबई भ्रमण तय गरिएको पारिवारिक स्रोतले दाबी गरेको छ ।