logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बुधबार बिहानै ‘विप्लव’ नेतृत्वको नेकपाले ४३ विघा १७ कठ्ठा जमिन र घर कब्जा


  • राजनीति
  • बुधबार, साउन १५ २०७६

टीकापुर – कैलालीको मध्यवर्ती बौनियाँमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घरजग्गा कब्जा गरेको छ। पार्टीको संगठन जनपरिषद नेपाल बर्दगोरिया गाउँपालिकाले चार जनाको ४३ विघा १७ कठ्ठा जमिन र घर बुधबार बिहानै कब्जा गरेको हो।

कब्जा गरिएको जग्गामा पार्टीको ब्यानर टाँसिएको छ। बर्दगोरिया जनपरिषद प्रमुख ‘अनुकुल’को नेतृत्वमा जग्गा कब्जा गरेको हो। विप्लव नेकपाले स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ विघा जमिन र घर, देवबहादुर मल्लको ८ विघा जमिन र घर, सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको हो।

अहिले विप्लव नेकपाले कब्जा गरेको जग्गा तत्कालीन नेकपा माओवादीलेसमेत कब्जा गरेको थियो। ब्यानरमा जनयुद्धका क्रममा कब्जा गरिएका सबै जग्गा पुन : जनपरिषद आजबाट लिइएको उल्लेख गरिएको छ। घरजग्गामा टाँसिएको ब्यानरमा जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारवाही गरिने उल्लेख छ। पार्टीको नीति अनुरुप बर्दगोरिया जनपरिषदले ती जग्गामा ब्यानर टाँसेर कब्जा गरेको नेकपा जिल्ला कमिटी सदस्य प्रकाश खड्काले बताए।

जिल्ला प्रहरी कार्यालय कैलाली डीएसपी दक्ष बस्नेतले जग्गा कब्जा गरिएको बारे जानकारी प्राप्त नभएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार