logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

युद्धमा सहयोद्धा ढले, युद्धपछि नेताको आदर्श ढल्यो’ : प्रदिप देवान, जनवादी कलाकार


  • राजनीति
  • बिहिबार, साउन २३ २०७६

‘अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा कोरेर’ यो गीत माओवादी जनयुद्धताका पूर्वतिर असाध्यै लोकप्रिय थियो । माओवादी छापामार, नेता तथा कार्यकर्ताहरुले मात्रै होइन आम मान्छेले पनि रुचाएको गीत थियो यो ।

मणि थापाले लेखेको यो गीतका गायक हुन्, प्रदीप देवान । देवानले माओवादी जनयुद्धताका यस्ता धेरै गीतहरुमा स्वर भरे । संगीत दिए । देवान माओवादी जनयुद्धमा गायक तथा संगीतकार मात्रै थिएनन्, प्रशिक्षक पनि थिए । युद्धमा लागेका कलाकारहरुलाई पूर्व–पश्चिम गरेर प्रशिक्षण दिंदै हिड्थे उनी ।

माओवादी युद्धताकाका उनै चर्चित गायक हिजोआज गुमनाम जस्तै छन् । ९ साउन २०७६ मा भेटिएका देवानलाई पहिलो प्रश्न थियो, ‘तपाई त हराउनु भयो नि ?’ उनले मसिनो स्वरमा भने, ‘हो, हराएको जस्तै भयो । तर हामीले देखेका सपना त ज्यूँदै छ है ।’ नयाँ पेजसँगको संवादमा आउन अघि उनी पक्राउ परेर भर्खरै जेल चलान भएका चर्चित र लोकप्रिय गायक तथा संगीतकार माइला लामालाई भेटेर आएका थिए । उनको अनुहार उतिधेरै खुलेको थिएन । उनले सुनाए, ‘भर्खरै माइला लामालाई भेटेर आएँ । हिजो सँगै लडेकाहरु कोही जेल जाने, कोही जेलमा भेट्न जाने, कोही चाहिँ जेल पठाउने अवस्था आउँला भन्ने हामीले सोचेका थिएनौं ।’

जनयुद्धताका माइला लामा र देवान संगीतको मोर्चाबाट जनता जगाउँदै पूर्व–पश्चिम घुम्थे । हिजोआज जस्तै त्यसबेला पनि नेता र नेताका भाषण सबैका लागि रुचीकर थिएन । तर, उनीहरुले गाएको गीत सुन्न जनताहरु भेला हुन्थे । ‘जनतालाई जुरुक्क–जुरुक्क’ उचाल्ने गीत गाउँदै हिंड्थे । उनीहरुका आर्दश थिए, त्यतिबेलाका नेताहरु । भने, ‘सिंहदरबारको कुर्सीमा रहेका नेताहरु हिजोका नेता जस्तो नै लाग्दैन ।’

सबै छोडेर जनयुद्धमा

देवान दार्जिर्लिङमा जन्मिए । सानैमा काठमाडौं आए । २०४२ वरिपरी नै रेडियो नेपाल छिरिसकेका थिए । काठमाडौंको मध्यम वर्गसँगै दौडिने सक्ने भइसकेका थिए । काठमाडौं शहरको सुख छोडेर, मञ्च छोडेर उनी २०५४ सालमा माओवादी जनयुद्धमा होमिए । उनले सुनाए,‘गरीबको संसार ल्याउने भनेर शहरको सबै चिज छोडेर जनयुद्धमा निस्किएको हुँ ।’

जनयुद्धमा संगीत सिर्जनासँगै प्रशिक्षक बनेर उनी पूर्व–पश्चिम घुमे । भन्छन्,‘२०५४ देखि २०६१ सम्म निरन्तर जनता जगाउने काममा हिंड्यौं ।’ उनी २०६१ सालमा पक्राउ परे । २०६१ देखि २०६३ सम्म नख्खु जेलमा बसे । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि उनी छुटे । जेलमा पर्दा पनि उनले उसैगरी संगीतको पाठशाला चलाए । उनले सुनाए, ‘नख्खु जेलमा लामो समय बसें । त्यो बेलाको अनुभव काम लाग्ला कि भनेर माइला लामालाई पनि सुनाएर आएँ ।’

देवान केही समययता गुमानाम जस्तै थिए । किन त ? ‘पारिवारिक समस्याको कारण,’ उनले सुनाए, ‘मेरो श्रीमती गम्भिर बिराम परिन् । उनलाई हेर्न पर्ने भएकाले अलि गुमनाम जस्तो भएको हुँ ।’ पार्टीको हिसाबले उनी अहिले माओवादी अथवा कम्युनिष्ट पार्टीमा छैनन् । डा. बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका देवान अहिले बाबुराम र उपेन्द्र यादव मिलेर बनाएको पार्टीमा छन् । भने, ‘सांस्कृतिक मोर्चाको उपाध्यक्षमा छु ।’

‘ढले आर्दश’
देवान माओवादी जनयुद्धको दर्शक होइनन्, योद्धा हुन् । साँच्चीकै परिवर्तनको सपना देखेर लागेका थिए, उनी युद्धमा । उनी भन्छन्, ‘हाम्रो मनमा साँच्चीकै समपर्ण र निष्ठा थियो । नेताहरु पनि पनि त्यस्तै होलान् भन्ने लागेको थियो । नेताहरुले यसरी छलकपट गर्लान् भन्ने लागेको थिएन ।’
जनयुद्धमा प्रचण्ड, बादललगायतका नेताहरु उनीहरुको आर्दश थिए । उनले सुनाए, ‘युद्धमा हेर्दा–हेर्दै सहयोद्धाहरु ढले युद्धबाट फर्किएपछि हाम्रा आर्दशहरु नै ढले ।’ नेताहरु आर्दशबाट च्युत भएको उनको आरोप छ । भन्छन्, ‘हेर्दा हेर्दै हाम्रा प्रिय आर्दशहरुलाई गाली गर्नुपर्ने दिन आयो ।’

‘छैन गुनासो, गर्व छ’

भर्खरै माइला लामालाई भेटेर आएका देवान अहिले माइला लामाले हिंडेको बाटोप्रति सहमत छैनन् । तर, फेरि माइला लामालाई गाली गर्ने पनि उनी तयार छैनन् । भन्छन्, ‘माइला लामालाई यहाँसम्म हिंड्न बाध्य पार्ने काम हाम्रै नेताहरुले गरेका हुन् ।’ माओवादी जनयुद्धमा माइला लामाको धेरै ठूलो योगदान रहेको उनी सम्झिन्छन्, ‘जनतालाई जगाउने, चेतना दिने काम ठूला नेताले भन्दा बढी माइला लामाले गरेका छन् ।’
युद्धमा उत्साहका कुरा गर्ने । सपनाका गीत गाउने । नयाँ–नयाँ आशा देखाउने देवान उतिधेरै खुशी देखिएनन् । उत्साही पनि देखिएनन् । ‘जनयुद्ध लडेकोमा पश्चाताप त छैन ?’ ‘पश्चाताप हुने कुरै भएन’ उनले भने, ‘आजको यो परिवर्तन हामी नलडेको भए गणतन्त्र, समानुपातिक समावेशिता आदि आउने थिएन । तर, जति उद्देश्यका साथ लडेका थियौं । त्यो चाँहि पूरा भएन । पुरा नभई नेताहरुले बाटो परिवर्तन गरे ।’

देवानले अन्तिममा आशाका कुरा सुनाए । भने, ‘हेर्नुहोस्, अब जनताले बुझिसकेका छन् । अब फेरि परिवर्तनको पक्षमा जनता उभिने छन् ।’ अब बाबुराम र उपेन्द्र यादवको पार्टीले त्यो परिवर्तनको नेतृत्व गर्ने बुझाइ उनको रहेछ । भने, ‘गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशितालगायत सबै परिवर्तनको नेतृत्व अब अरुले गर्न सक्दैन ।’

नया पेज बाट साभार गरिएको हो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार