राजनीति
पछिल्लो समय अन्तर्राष्ट्रिय अदालत हेगको प्रसग चलिरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले कसैलाई एक लपेटो नहानेको बताएका छन् । उनले आफूले कसैको एक लपेटो नखाएको पनि बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माको पुस्तक ‘झरीको सौन्दर्य’को लोकार्पण कार्यक्रममा प्रचण्डले भने, ‘मेरो नेतृत्वमा त्यत्रो युद्ध भयो, हजारौंको बलिदान भयो। तर म त्यस्तो विद्रोही नेता हुँ जसले कसैलाई एक लपेटो हानेको पनि छैन, कसैको एक लपेटो खाएको पनि छैन ।’
प्रचण्डले हिंसात्मक क्रियाकलापमा आफ्नो कहीँ कतै प्रत्यक्ष सहभागिता नभएको बताए । तर विगतमा आफ्नो नेतृत्वमा भएको जनयुद्धको जिम्मेवारी भने आफूले लिने प्रचण्डको भनाई छ । उनले बिद्रोहको मात्र नभएर बिद्रोहलाई शान्तिपूर्ण र लोकतान्त्रिक प्रणालीमा ल्याउने नेतृत्व पनि आफूले गर्न पाएको बताए ।
प्रचण्डले आफू निकै साहित्यिक मानिस भएको जानकारी दिए । उनले भने, ‘मेट्रिक पास गरेर कलेज पढ्ने बेला महिनौं बाहिर ननिस्की किताब पढ्थें । मेरो नाचगानमा रूची थियो। लक्ष्मीप्रसाद देवकोटा र ताना शर्माका निबन्धहरू पढेर नेपाली समाजको बारेमा धेरै थाहा पाएँ।